अनमोलको अग्निपरिक्षा

janataPost

काठमाडौं , २३ माघ । अबको तीनदिनपछि नेपाली हलहरूमा युवा सुपरस्टार अनमोल केसीको आगमन हुँदैछ । फिल्म ‘कृ’ सँगै उनी झण्डै २ वर्षपछि नेपालका सिंगल तथा मल्टिप्लेक्स हलहरूमा देखिँदैछन् । अनमोलको लागि यो चलचित्र अग्निपरिक्षाजस्तै हो । किनकी, उनी अहिलेसम्म सफल चलचित्र दिइरहेका पछिल्लो समयका सर्वाधिक सफल अभिनेता हुन् ।


पहिलो चलचित्र ‘होस्टेल’ बाटै सफलताको स्वाद चाखिसकेका उनलाई चारवटा चलचित्र दिइसक्दा सम्म असफलताको स्वाद कस्तो हुन्छ भनेर अनुभव गर्नुपरेको छैन । यो उनको सबैभन्दा सुन्दर पक्ष हो । र सवल पक्ष पनि । पाँचौं प्रोजेक्टप्रति पनि खुबै आशावादी छन्, अनमोल । ‘दर्शकको मायालाई सर्वश्व ठान्छु,’ व्यस्तताका वावजुद समय निकालेका अनमोलले भने, ‘अहिलेसम्म उहाँहरूकै कारण सफल छु, भविष्य पनि उहाँहरूकै हातमा छ ।’ अनमोललाई ‘कृ’ ले कस्तो रिजल्ट दिन्छ भन्ने कुरा आफ्नो हातमा नरहेको बताउँछन् उनी । यत्तिका सफल चलचित्र दिएर पनि उत्ति घमण्ड भने उनमा देखिएको थिएन । ‘कृ’ बाट आशावादी भने खुबै छु,’ कृका लागि करिब दुई वर्ष मिहेनत गरेका उनले आशा र डरसहित भने, ‘वर्तमानमा राम्रैसँग काम गर्नुपर्छ, भविष्य आफ्नो हातमा छैन ।’


अनमोलले यो छोटो फिल्मी करिअरमा फस्ट डिभिजन मात्रै हैन, डिक्स्टिन्सन नै हानेका छन् । जुन प्रमाणका लागि विगत केही वर्ष मात्रै हेरे पुग्छ । सुनिल रावलले ‘होस्टेल’ बाट फिल्मी दुनियाँमा प्रवेश गराएपछि सदावहार अभिनेता भुवन केसीका यी छोरालाई पछि फर्किएर हेर्नु परेको छैन । निरन्तर बढिरह्यो क्रेज ‘कृ’ सम्म आइपुग्दा । र अझै बढाउनको लागि उत्तिकै मिहेनत पनि गरिरहेका छन् ।


‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ मा दर्शकको राम्रै अंक पाएर फिल्मी करिअरमा सफलताको तिख्खर स्वाद पाएका उनको जुन किसिमको स्टारडम छ, त्यसले पाचौं प्रोजेक्टलाई रिलिज अगावै हिट बनाइसकेको छ । जुन कुरा कृको ट्रेलर अहिलेसम्म सर्वाधिक हेरिएको नेपाली चलचित्रको ट्रेलर हुनुले पनि प्रमाणित गरिसकेको छ । तर, यी रिजल्टभन्दा अगाडि गरिने अनुमान मात्रै हो । अनमोलको ‘कृ’ कस्तो हुने हो त्यो भने  माघ २६ कुर्नै पर्नेछ ।


सबैभन्दा बिकाउ अभिनेता


अनमोलले ५० लाख पारिश्रमिक दिएर आफूलाई फिल्म खेल्न अफर गरेको कुरा खुलासा गरे । ‘पैसाका पछि लाग्ने भए किन खेल्ने थिइनँ ?’ उनको भनाइ छ, ‘५० लाख आएको कुरालाई हाउगुजी बनाइएको हैन, यो सत्यकुरा नै हो ।’ स्क्रिप्ट राम्रो भयो भने थोरै पारिश्रमिकमा पनि अभिनय गर्न सक्ने बताउँछन् उनी । यदि उनी पैसाकै पछि लाग्ने भए यत्रो दुई वर्षसम्म एउटै चलचित्रमा अल्झिने थिएनन् उनी । यो अनमोलको सवल पक्ष हो । र एउटा कुशल अभिनेतामा हुनुपर्ने गुण पनि । ‘अनमोललाई ५० लाखसम्मको पारिश्रमिक दिएर फिल्म खेलाउन खोज्ने निर्माताको संख्या बढिरहेको छ,’ अनमोलका बा भुवन केसीले भने, ‘छोराको सफलतामा कसलाई खुसी लाग्दैन र ?’ त्यसो त भुवन केसी झण्डै ६ वर्ष भयो फिल्मको पर्दामा नदेखिएको । ‘साथी म तिम्रो’ पछि उनी फिल्म निर्माणमा देखिएका छन्, छोरा अनमोललाई लिएर । तर भुवनको पनि आफ्नै किसिमको फ्यानहरू छन् । भुवनले नयाँ चलचित्रमा चाँडै आउने कुरा पनि बताएका छन् । यो उनका फ्यानहरूको लागि राम्रो समाचार हो । भुवनको निर्माणमा बनेको चलचित्र ‘कृ’ बाट रिलिजपूर्व जुन किसिमको आशा गरिएको छ, त्यसैअनुसार रिजल्ट अनमोलको पक्षमा आयो भने अनमोलको स्टारडम थप उचाइमा पुग्ने सहजै आंकलन गर्न सकिन्छ । र उनका समकालीन अभिनेताहरू निकै छायाँमा पर्ने कुरा अड्कल काट्न पनि कुनै गाह्रो छैन । गाउँदेखि शहरिया युवतीहरू अनमोल भनेपछि हुरुक्कै छन् र अझ हुरुक्कै हुनेछन् । फ्यान फलोइङ अझै बढ्नेछ । लाखौंको अफर गर्दै अनमोलको घरको ढोका हान्न निर्माता÷निर्देशकहरू लाइन लाग्नेछन् । अनमोललाई फेरि एकपटक गमक्क पार्नेछन् । तर उनले यो देखाइसकेका छन् कि उनी जस्तो पायो त्यस्तै चलचित्रमा आँखा चिम्म गरेर साइन गर्ने अभिनेता होइनन् ।

 


‘छोरो स्वतन्त्र छ, आफ्नै निर्णयमा चल्छ’


अनमोल धेरै सोच विचार गरेपछि मात्र चलचित्रमा अभिनयका लागि तयार हुन्छन् । यो कुरा अनमोल आफैंले बताएका हुन् । उनी न पैसाका पछि दौडन्छन् । न जुन बजारमा हल्ला आएजस्तो बाउको क्याम्पभित्रबाट मात्रै चल्नेछन् । अनमोलले यस विषयमा आफू स्वतन्त्र भएको कुरा बताए । तर, उनका बा भुवन भन्छन्, ‘एज अ ड्याडको हिसाबले कुरा गरे पनि कुन चलचित्रमा अभिनय गर्ने÷नगर्ने, कति रकममा काम गर्ने आदि इत्यादी कुरा अनमोलले आफैं डिसिजन गर्ने कुरा हो ।’ भुवन फेरि थप्छन्, ‘छोरो स्वतन्त्र छ ।’


किन फरक छन् अनमोल ?


अनमोलसँग अहिले यस्तो ताकत छ, जसले आफू अनुकूल कथा, चलचित्रको छायांकनस्थल तथा आफू अनुकूल लगानीको डिमाण्ड गर्न सक्छन् । तर स्टारडम जति बढे पनि प्रत्यक्ष रूपमा अनमोल त्यस्ता अभिनेता भने छैनन् । भेट्न आउनेसँग मुसुक्क मुस्कुराएर बोल्छन् । सेल्फी खिच्न खोज्नेहरूको मोबाइलमा पुर्लुक्क हेरिदिएर फ्यानहरूको मन राखिदिन्छन् । पत्रकारहरूको प्रश्नमा सभ्य तरिकाले जवाफ दिन्छन् । जोसँग बोल्दा पनि निकै साधारण र शालीन रूपमा बोल्छन् । अनमोलमा बाहिर सोचेजस्तो ‘हिरोइजम’ देखिँदैन । अनमोल एकदमै साधरण रूपमा पेश हुन्छन् । उनी चलचित्र ‘कृ’ को दोस्रो गीत सार्वजनिक समारोहमा पनि त्यस्तै देखिए ।


चलचित्रको कथाले मागेजस्तो अभिनय दिन उनी कन्जुस्याइँ गर्दैनन् । ‘चलचित्रले मागेजस्तो अभिनय गर्न सक्नु नै अनमोलको राम्रो पक्ष हो । हाम्रो चलचित्रको लागि अनमोलको शरीरमा २० केजी बढी तौल चाहिने थियो । कृ चलचित्रका निर्माता समेत रहेका सुवास गिरी अनमोलको प्रशंसा गर्दै भन्छन्, ‘काममा पर्फेक्ट छन् अनमोल !’ अनमोलले आजसम्म आफ्नो स्टारडम जोगाइराखेका छन् । अलि स्टाइलिस्ट छन् । अलिकति कोरियन लुक्समा सजिने उनको फेसले धेरैलाई मोहनी लगाएको छ । तर अचम्म धेरै फ्यानहरूको गुनासो छ– अनमोलले कलाकार र पब्लिकसँग हुनपर्ने जुन दूरी हो, त्यो बढाएका छन् ।


अनमोल भन्छन्, ‘के छ भन्ने कुरा लाई  रहस्यमय बनाउनु भनेको मानिसमा कौतुहलताको सिर्जना गर्नु होनि ।’ तर त्यसरी दूरी बढाएको भन्न नमिल्ने बताउँछन् उनी । अनमोल फिल्म खेलेर मात्रै संख्या बढाउने पक्षमा छैनन् । उनले भने, ‘दर्शकलाई राम्रो चलचित्र दिने हो, संख्या दिएर मात्रै हुँदैन ।’ साँच्चिकै भन्दा अनमोल बिकाउ मात्रै हैन टिकाउ बन्न खोजिरहेका छन् । सोही कारण सेलेक्टेड फिल्म मात्रै खेल्छन् । अनमोललाई टिकाउन भुवन यसरी लागेका छन् कि कसैले अनुमान गर्न सक्दैन । फ्यान फलोइङबारे अनमोल भन्छन्, ‘हरेक फिल्ममा मिहेनतले काम गरेको हुन्छ, सोही कारण दर्शकले रुचाउनुभएको छ ।’ सेलेक्ट गरेर फिल्म खेल्नु, स्टारडम जोगाउन सक्ने सामथ्र्य राख्नु, क्यारेक्टरअनुसार आफूलाई ढाल्न सक्नु अनमोलका विशेषता हुन् ।
 

प्रतिकृया दिनुहोस

आयो ‘अम्लान फूल’

काठमाडौं, ५ फागुन । गजलकार शान्ति शर्माको जगल संग्रह ‘अम्लान फूल’ पाठकमाफ आएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विमोचन समारोहमा

डाङडुङेडाँडा अब अन्तर्राष्ट्रिय फिल्म नगरी 

बलराम शिवाकोटी, दोलखा । फिल्मी सिटी बन्नेमा अन्योल रहेका बेला दोलखाको “डाङडुङेडाँडामा अन्तर्राष्ट्रिय स्तरको फिल्मी सिटीको शिलान्यास गरिएको छ

चर्चित सेलिब्रेटीको कुरूप मैनमूर्ति

विशेषतः प्रसिद्ध व्यक्तिहरूको मैनमूर्ति बनाउने प्रचलन संसारभर नै रहेको छ । उनीहरूको सम्मानस्वरूप बन्ने उक्त मूर्तिहरूबाट उनीहरूप्रति