दुखनीदेवीको दुःख

जनतापोस्ट

janataPost

किरण भट्टराई 
सप्तरी, २७ माघ ।
बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगालेकी थिइन् । 


पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर रु एक लाख ५० हजार ऋण लिई उनले छोरालाई मलेसिया पठाइन् । छोरो रोजगारीका लागि मलेसिया उडेपछि कमाउला र आफूलाई पनि बुढेसकालमा आर्थिकरुपमा केही सहज होला भन्ने उनको सपना धेरै दिन टिकेन । मलेसियाको केर ग्लोबल फट्युनमा रोजगारीका लागि पुगेको छोरा मनोजकुमार मण्डल २२ दिनपछि बिरामी भएर नेपाल फर्किए । 


मलेसियामा नौलो परिवेश, समाज र वातावरणमा काम गर्दा उनको छोरामा कडा मानसिक समस्या देखापर्यो । सोही कारण कम्पनीले उनलाई नेपाल फिर्ता पठायो । तीन वर्षअघि त्यहाँबाट शुरु भएको दुखनीदेवीको दुःखका दिन अझै सकिएका छैनन् । छोरो पठाउँदा तीन कट्ठा जग्गा धितोमा राखेर स्थानीय खुरहुरीयाका विरजा यादवसँग लिएको रु एक लाख ५५ हजार ऋणले उनलाई अझै सताइरहेको छ । 


सो ऋणको ब्याज बढेर अहिले रु चार लाख पाँच हजार पुगेको छ । सोही चक्रिय ब्याजले उनलाई थला पारेको छ । उनले भनीन्, “आम्दानीको स्रोत केही छैन, कमाउने छोरा नै बिरामी भयो, कसरी ऋण तिर्ने ?” श्रीमान् र आफूलाई बुढेसकाल लागेकाले खासै काम गर्न नसके पनि कहिलेकाहीँ मजदुरी र खेती किसानी गरेर केही रकम जम्मा गर्ने गरेको उनले बताइन् । 


छोरोे फर्किएर आएको धेरै समयपछि एजेण्टले मलेसिया जाँदा लागेको पैसा फिर्ता गर्यो । एजेण्टले रकम दिएपछि शुरुमा रु दुई लाख साहुलाई तिरिन् । गत वैशाखमा र कात्तिकमा रु ५०/५० हजार तिरिन् । अब तिर्न बाँकी रु एक लाख पाँच हजार छ । धितो राखेको जग्गा अझै फिर्ता भएको छैन । रु एक लाख ५५ हजार ऋण लिए पनि साहुले रु तीन लाख ऋण लिएको कागज गराएको पीडित दुखनीदेवीको भनाइ छ । 


मण्डलको तीन वर्षको नातिनी हुनुहुन्छ । मानसिक समस्याका कारण छोराले बुहारीलाई दुःख दिने गरेपछि उनी धेरैजसो माइतमै बस्ने गरेको दुखनदेवी बताउँछिन् । “नातिनीलाई पढाउने व्यवस्था गर्नसके हुन्थ्यो,” उनले भनीन्, “छोरो त निको हुने कहिले हो कहिले, कम्तीमा नातिनीलाई राम्ररी पढाउन पाए हुन्थ्यो ।” 


दुखनी देवी त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांशले गाउँकै साहु, महाजन र पण्डितसँग चर्को ब्याजमा ऋण लिएर जाने गरेका छन् । रकम दिनेले कागज गर्दा ब्याज नलेखी पहिले नै लिएको रकमभन्दा दोब्बरको कागज गर्ने गरेका छन् । रु एक लाख ऋण लिए ब्याज पहिला नै जोडेर रु दुई लाखको कागज गर्ने परम्परा यहाँका लागि सामान्य भइसकेको छ । 


स्थानीय प्रहरी प्रशासन यसबारे जानकार रहेपनि यस्ता विकृति हटाउन खासै पहल गरेको देखिँदैन । वित्तीय साक्षरताको अभाव, बैंकबाट ऋण लिन झण्झट मान्ने र बैंक तथा वित्तीय संस्थाले पनि सहजै ऋण नदिने भएकाले यस्तो प्रवृत्ति बढेको हो । यसलाई हटाउन वित्तीय साक्षरता कार्यक्रमका साथै चर्को ब्याजमा नक्कली कागज गर्ने प्रवृत्तिविरुद्ध स्थानीय प्रहरी प्रशासनले कदम चाल्न आवश्यक रहेको सरोकार भएकाहरु बताउँछन् । (रासस)

प्रतिकृया दिनुहोस

सुनकोशी दोहन, राज्य मौन (फोटोफिचर)

काठमाडौं । विपी राजमार्गको भकुण्डेवेशी देखि खुर्कोट खण्डको नदीमा देखी केही दृश्य जहाँ मेरो मात्र होइन जो कोहीको पनि आँखा पुग्छन । सुनकोशी नदिका

कतारबाट फर्किएका घिमिरे नेपाल आएपछि बेपत्ता

नवलपरासी, १२ चैत । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।