यातायात सञ्चालनको माग

जनतापोस्ट

janataPost

जाजरकोट, २८ माघ । पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । तत्काल गाडी गुडाउन माग गर्दै स्थानीयले सरोकार भएका निकायसँग माग गरेका छन् । सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बनेपछि कुदुर जगतिपुरका स्थानीयले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन माग गरेका हुन् । 


जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरूले जाजरकोटमा निर्माण भएको ९२ किलो मिटर सडकमा तत्काल गाडी गुडाउन माग गरेका हुन् । सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय सरकार र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरूले जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र प्रदेशसभाका सांसद कृष्णा शाहमार्फत सरोकारवालको ध्यानाकर्षण गराएको स्थानीय अटल आचार्यले जानकारी दिए । उनका अनुसार करोडौँ रकम खर्च गरेर सडक बनाउने र गुणस्तर कायम नगर्ने अनि जनताले दुःख पाइरहेका छन् । 


सडकको अवस्था निकै नाजुक बनेको तर सरोकार भएका निकायले कुनै ध्यान नदिएको  उनीहरूको गुनासो छ । लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरूले माग गरेको स्थानीयवासी बताउँछन् । 


रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको  कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको स्थानीयको गुनासो छ ।


यसबारे मध्यपहाडी लोकमार्ग आयोजनाका कार्यालय दाङका सिनियर डिभिजन  इञ्जिनियर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताउनुभयो । 


भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको ९२ किमी सडकको कालोपत्र गर्ने, सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली बनाउने कामका लागि माघ महिनाभित्र टेण्डर आह्वान हुन लागेको छ । सडकको कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआरको रिपोर्ट आइसकेकाले अब टेण्डर आह्वान हुन् लागेको उहाँको भनाइ छ । प्रतिकिमी  छ देखि १० करोडसम्मको बजेट खर्च गर्ने गरी ९२ किमी सडक आगामी तीन वषभित्र कालोपत्र गरिसक्ने गरी आफूहरूले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनियर न्यौपानेले बताए । (रासस)
 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।