टपरीले जुराँउदै गाँसबास

janataPost

लाग्छ यतिबेला कावासोतीदेखि उत्तरका गाउँ कुनै महायज्ञमा जुटेका छन् । आँगन र घरमाथि बाटोमा जताततै टपरी (लाफा) सुकाएको दृष्यले कावासोती फलफूल चोकदेखि ८ किलोमिटर उत्तरका रिठे पानी, हात्तीखोर, सालघारी र विष्णुनगर गाउँ पूजापाठ वा कुनै यज्ञमा जुटेको भान हुन्छ । 


हिन्दु धर्मको लोक संस्कृतिसँग जोडिएको दुनाटपरीलाई चोखो निधोका रूपमा प्रयोग गरिन्छ । वैद्धिक सनातनी धर्म अनुसार ऋषि वशिष्टले टपरी भित्र्याएको मानिन्छ । आज पनि धार्मिक कर्मकाण्डदेखि विवाह, भोज, भतेरमा टपरीको महत्व घटेको छैन । 


‘पत्रा बल्याम तु भोजनम् ।’


पातले बनाएको थालीमा राखेर कुनै पनि अन्न वा फलफूल चढाएमा पुन्य पाइने धार्मिक विश्वास छ । हिन्दुको चार वेद १८ पुराण र १ सय ८ उपनिषदमा मन्थन गरेर नौनीका रूपमा निकालिएको गीतामा समेत यो कुरा उल्लेख भएको बताउँछन् कर्मकाण्ड गर्ने पर्वत निवासी शिवहरि सुवेदी । 


महत्व जे भए पनि कलात्मक बिट ल्याएर सुन्दर टपरी बुन्नु नवलपारासीका गृहणीहरूको दैनिकी बनेको छ । कम्तीमा एक टपरीमा आठदेखि दशओटा पात राखेर उनीहरु टपरी बनाउँछन् । टपरीमा लगाइएका सिन्का पेन्टरले रङ गरेझैं झल्को दिन्छन् । नवलपरासीको अरुणखोलादेखि कावासोतीसम्मका दिदीबहिनी सालको पातको टपरी बनाएरै दैनिकी चलाउन थालेका हुन् । 


भगवान कृष्णले गीतामा अर्जुनलाई बताउँदा— ‘पत्रम् पुष्पम् फलम् तोयम् जलद्वारा’ भन्ने भक्तिपूर्वक भावमा —पातहरूमा फूल, फल, पानी दिएमा अधिक धर्म हुने र मनोकामना पूरा हुने उल्लेख छ । आधुनिक युगमा पनि केराको पात, घोर्लाको पात र सालको पातलाई सबैभन्दा चोखो पातको रूपमा हेरिंदै आएको छ । दक्षिण भारतमा अझै पनि पाहुनालाई केराको पातमा खाना खुवाउन पाउदा गर्व गर्छन् । 


यहाँका बासिन्दालाई असार सावनदेखि असोज कात्तिकसम्म टपरी बुन्न भ्याइ नभ्याइ हुन्छ । वर्षा ऋतुको आगमन सँगै सालको पात टिप्न हजार १२ सय घरधुरीका महिला महाराजा सामुदायिक बनदेखि चोरमाराको बनसम्म जाने गर्छन् । एक जनाले एकदिनमा दुई सयदेखि चारसयसम्म पात टिपेर फर्किने गरेको ७२ वर्षीया केशरी मायाले बताइन् । उनका अनुसार एकदिनमा एक जनाले एकसय भन्दा बेसी टपरी (लाफा) बुन्दछन् । बुनेको लाफा घाममा सुकाएर फेरि नयाँ टपरी बुन्ने गरेको उनले बताइन् । 


हात्तीखोरकी केशरी मायाको टपरी बुन्दा हात काम्छन् । तै पनि टपरी बुनेरै मासिक चार हजारसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन् । युवतीहरु भन्दा पनि बृद्धा आमाहरु टपरी बुनेर आफ्नो फुर्सदिलो समयको सदुपयोग गर्दै आइरहेकाछन् । परम्परागत रुपमा टपरी बुन्ने प्रचलन हराउँदै गइरहेको बेला यहाँका चेलीबेटीले टपरी बुन्ने कामलाई पेशाको रुपमा अपनाउदै आइरहेका छन् ।  

 

पातले बनाएको थालीमा राखेर कुनै पनि अन्न वा फलफूल चढाएमा पुन्य पाइने धार्मिक विश्वास छ । हिन्दुको चार वेद १८ पुराण र १ सय ८ उपनिषदमा मन्थन गरेर नौनीका रूपमा निकालिएको गीतामा समेत यो कुरा उल्लेख भएको बताउँछन् कर्मकाण्ड गर्ने पर्वत निवासी शिवहरि सुवेदी । 


एकसय प्रजातिका पातहरु मध्ये घोर्लाको पात, केराको पात र सालको पात शुद्ध रहेको विज्ञान र शास्त्रसम्मत रहेको बताउछन् शास्त्री सुवेदी । २७ वर्षदेखि धार्मिक कर्मकाण्ड गर्दै आइरहेका सुवेदी हरेक कर्मकाण्डमा दुनाटपरीको नै प्रयोग गर्दै आइरहेको सुनाउँछन् ।  गाउँभरिको टपरीलाई एक रुपैयाँ बिस पैसाका दरले किनेर हजारौं टपरी संकलन गर्छिन् आशा मल्ल । उनी त्यो टपरी ठेगदारलाई प्रतिगोटा एक रुपैयाँ ३० पैसामा बेच्छिन् । एक टपरीबाट दश पैसा नाफा खाएर बेच्दा आशा मल्लको राम्रै कमाइ हुने गर्छ । 


विष्णुनगरकी श्यामकला न्यौपानेले १४ वर्षदेखि टपरी उद्योगमा लागेकी छन् । सुकेका लाफा किनेर उनी मेसिनमा कटिङ्ग तथा बेन्डिङ्ग गर्छिन् । दुईजनाले दिनमा चार हजारसम्म टपरी कटिङ्ग गर्ने गरेको उनी बताउँछिन् । एक महिनामा तीन ट्रकसम्म टपरी उत्पादन गर्ने श्यामकला प्रतिमहिना २० देखि २५ हजारसम्म नाफा कमाउने गरेको बताउँछिन् । 


अरुणखोला, डण्डा, चोरमारा जस्ता ठाउँबाट सालको पात र दुनाटपरी ठेकेदारले ट्रक भरेर उपत्याका भित्र्याउँछन् । पशुपति क्षेत्रभित्र २८ वर्षदेखि दुनाटपरी बेच्दै आइरहेका साँखु घर भएका पर्शुराम भुजेलको दुनाटपरी पसलले राम्रै जीविका चलेको छ । 


‘दाजु एउट पात दिनु न !’ पातको मुठातिर देखाउदै दर्शनार्थीले सालको पात मागिन् । भुजेलले ‘पाँच रुपैया पर्छ’ भने । 
‘पाँच रुपैयाँ !’ उनी आश्चर्य प्रकट गर्छिन । किनु कि नकिनु हुन्छिन् ।  


‘अचेल पाँच रुपैयाँले त दिशा बस्न नि पाइदैन’ साहुजी ठाडो जवाफ दिन्छन् । सालका पात किनेर जाँदैगर्दा उनी भन्छिन्— ‘गाउँमा फालाफाल छ, यहाँ यति महंगो किन्नु प¥यो ।’   


पशुपति क्षेत्रभित्र दुना टपरी र सालको पात खोज्ने भक्तालुको कमी हुँदैन । दुनाटपरीका पसल पनि बाक्लै छन् । सबै राम्रै चलेको भुजेल बताउछन् । भुजेल पशुपति क्षेत्रमा दुनाटपरी बेचेरै मासिक ३० हजार रुपैयाँ कमाउने गरेको बताउँछन् । 


पशुपति क्षेत्रभित्र विविध चाडपर्व पर्दा सबैभन्दा बढी दुनाटपरी बिक्ने गर्छन । सामान्य दिनमा पनि ५० हजारसम्म दुना टपरी गए पनि बालाचर्तुर्थी, शिवरात्रि, तीज, लाखबत्ती बाल्ने जस्ता धार्मिक कार्यहरुमा भने पाँचलाख बराबरको दुना टपरी बिक्ने गरेको यहाँका व्यपारीहरु बताउँछन् । 


गुहेश्वरी, राजेश्वरी, पशुपती, गौरीधार, भुवेन्श्वेरी जस्ता पिठहरु जोड्ने हो भने दैनिक एक लाखसम्म दुना टपरीको माग हुने अनुमान छ कर्मकाण्ड गर्दै आएका रामप्रसाद लुइटेल बताउछन् । 


पशुपती, असन, पाटन, बुढानिलकण्ठ जस्ता मन्दिरहरुमा टपरी किनबेच हुन्छ । उपत्याका नेवारहरु अझै पनि दुनाटपरी नै प्रयोग गरेर भोजहरु सम्पन्न गर्दै आइरहेका छन् । भोजभतेरको बेला एकै परिवारले कम्तिमा चार सयसम्म, टपरीको लाफा किन्ने गर्छन् । टपरीमा भोज खुवाउन चाहे पनि सुविधा खोज्ने मान्छे बढेकाले आम बिबाहभोज तथा कर्मकाण्डमा टपरी कम प्रयोग हुँदै आइरहेको छ । बर्तबन्ध, सराद, सत्यनारायण पूजालगायत धार्मिक अनुष्ठानहरुमा टपरीको महत्व अझै पनि घटेको छैन । 


चावहिल चोकमा सालका सुकेका तथा च्यातिएको पात छानिरहेका शुर्वण खत्री ग्रहाक पर्खिरहेका छन् । कहिलेकाही किनेको पात फ्याक्नु पर्ने र कहिले भने पचास रुपैयाँ दिने मानिस आउँदा पनि नपुग्ने बताउछ खत्री ।१७ वर्षदेखि दुनाटपरी बेच्दै आएका खत्रीले मासिक २० हजार कमाउछन् । उनी यसैबाट भएको कमाइले एक छोरा एक छोरी स्कुल पढाइरहेका छन् । 


देशका स्थापित धार्मिक पिठहरुमा दुनाटपरी खोजिए पनि गाँउमा भने दुनाटपरी बिस्तारै लोप हुदै गइरहेका छन् । बस्ती बाक्लिँदै जाँदासालको वन फडानी हुँदै गइरहेको छ । नजिकै पात पाउनै गाह्रो हुन थालेको छ । वैवाहिक कार्य होस् कि पुजापाठ गाउँका धेरै दिदीबिहिनी भेला भएर टपरी बनाउने सामाजिक चलन सामाजिक सदभावका लागि पनि उपयुक्त मानिन्थ्यो । तर पछिल्लो समय गाउँ गाउँमा आधुनिक भाँडा प्रचलनमा आएपछि दुनाटपरी र सामाजिक सदभाव पनि पातलिँदै गएको छ । 


दुना टपरीमा अक्षेता मुछेर टीका लगाइने प्रचलन बिस्तारै हट्दै गयो । अहिले तामा तथा काँसको थालीमा अछेता मुसिन्छ । बिस्तारै लोप हुँदै गइरहेको दुना टपरी डण्डा कावासोती, चोरमारा, अरुणखोला, लगायत ठाउँमा भने पेशाका रुपमा विस्तार गरेर जोगाउने प्रयास भइरहेको छ । 


काठमाण्डौं, ललितपुर, भक्तपुर र काभ्रेका विविध मठमन्दिर र नेवारी समुदायको खासखास भोजहरुमा विशेष प्रयोग हुने टपरीलाई राज्यले उद्योगको रुपमा विस्तार गर्नसके रोजागरी सृजना, समाजिक र साँस्कृतिक विकासमा टेवा पुग्ने जानकारहरु सुझाउँछन् । यसले भारतीय बजारको पलाष्टिकका हस्थायी प्लेट, कचौरामा बाहिरिरहेको करोडौं रुपैयाँ स्वदेशमै रोकिने देखिन्छ ।

प्रतिकृया दिनुहोस

२०४५ को नाकाबन्दी : एउटा पूजारीका कारण देशले ९ महिना नाकाबन्दी सामना गर्यो

कुनै पनि नयाँ निर्णय लिँदा सन्दर्भ वा उदाहरणका लागि हामी इतिहासलाई नै फर्किएर हेर्छौं । त्यस्तै इतिहासदेखि वर्तमानसम्म हामीले भोग्दै आएको एउटा

गुफा बसेपछि विधुवा भइन्न

ठ्याक्कै याद छैन म कति वर्षको थिए । सायद, १ कक्षा पढ्थे । त्यस्तै ८ वर्ष जति थिएँ । म अचम्ममा पर्दैथे । एकातर्फ अजी (हजुरमाले) टीका लगाइ, सगुन दिदै

शुल्क नलिँदैमा शिक्षा निःशुल्क हुँदैन

संविधानले तीनथरीलाई उच्च शिक्षासम्म निःशुल्क भनेको छ । अपांगता भएका बालबालिका, दलित र विपन्न वर्गका बालबालिकालाई कमसेकम निःशुल्क रूपमा पढाउनै पर्छ