प्रविधिमा बैंकिङ क्षेत्रले मारेको फड्को 

जनतापोस्ट

janataPost
लेखक : चिन्तामणि शिवाकोटी 

वि.सं. १९९४ कात्र्तिक ३० गते राजा त्रिभुवनले नेपाल बैंकको उद्घाटन गरेसँगै नेपालमा बैंकको संस्थागत शुरुवात भएको हो । मुलुकमा बैंकको शुरुवात गर्ने श्रेय नेपाल बैंकलाई नै जान्छ । बैंक तथा वित्तीय संस्थाको शुरुवाती चरण प्रविधिमा निकै कमजोर थियो । त्यसबेला कुनै पनि बैंक तथा वित्तीय संस्थामा गएर ढड्डा पल्टाउनुपर्ने, सोही ढड्डामा हिसाब किताबको कारोबार राख्ने, हिसाब गर्दा औंला भाँच्नुपर्ने अवस्था थियो । कतिपय अवस्थामा हिसाब बिग्रन्थ्यो । पछि क्यालकुलेटरले नेपालमा प्रवेश गर्यो । त्यसपछि दिनभरका खातापाताको करोबार साँझ परेपछि क्यालकुलेटरमा गरिन्थ्यो । औला भाँचेर हिसाब गर्नुपर्ने अवस्थालाई क्यालकुलेटरले केही सहज गरिदियो । 


२०४६ सालमा जब प्रजातन्त्र आयो, त्यसपछि हरेक क्षेत्रजस्तै प्रविधिको क्षेत्रमा पनि नयाँ आयाम थपिँदै गयो । यद्यपि, विदेशी लगानीका स्टान्टर्डड चार्टड बैंक, नबिल बैंक आएपछि उनीहरूले पुँजीसँगै प्रविधि पनि भित्र्याए । बैंकिङ क्षेत्र कप्युटराइजेसन युगमा प्रवेश ग¥यो । खासगरी २०४९/५० सालदेखि बैंकिङ क्षेत्रमा प्रविधिको विकास हँुदै गएको मानिन्छ । प्रविधिकै विकासले एटीएम सेवा व्यापक बन्दै गएको छ । आज करिब ५७ लाख  खातावालाले डेबिट कार्डको प्रयोग गरिरहेको देखिन्छ । करिब ७५ हजार मानिसले क्रेडिट कार्डको प्रयोग गरेका छन् । बैंकिङ क्षेत्रमा प्रयोगमा आएका यस्ता सिस्टमले अहिले आम नागरिकको दैनिकीलाई सहज बनाएको छ । प्रविधि यतिमै मात्र सीमित छैन । प्रविधिकै कारण शाखारहित बैंकिङ (ब्रान्चलेस बैंकिङ) सेवा सम्भव भएको हो । करिब ११ सय शाखारहित प्वाइन्टहरू स्थापना गरिएको छ । यसमा बैंकको शाखा, बैंकको भाडा आदि हँुदैन । यसमा एउटा कुनै पसलेलाई चाहे त्यो औषधी पसले होस् वा पीसीओ सञ्चालक नै किन नहोस् उनीहरूलाई मेसिन प्रदान गरिएको हुन्छ । त्यस मेसिनमा निश्चित प्रविधि हुन्छ । त्यसकैको प्रयोगबाट रकम झिक्न मिल्छ । रेकर्ड मेसिनमा हुन्छ र त्यो कनेक्सन बैंकसँग हुन्छ ।  


पछिल्लो चरण एबीबीएस (जुनसुकै शाखाबाट बैंकिङ सेवा) आएको छ । पहिले जुन बैंकको जुन शाखामा रकम जम्मा गरेको हो त्यही शाखामा धाउनुपर्ने बाध्यताको अन्त्य यस सेवाले गरेको छ । सम्बन्धित बैंकको जुनसुकै शाखाबाट बैंकिङ सेवा पाइन थालेको छ । यात्रा गर्दा  अथवा कतै जानुपर्दा चेकबुक बोक्न बिस्र्यौं भने पनि एटीएमको प्रयोगबाट रकम झिक्न सकिने अवस्था आएको छ । मोबाइल बैंकिङबाट बिजुलीको, फोनको, खानेपानीको पैसा तिर्न सकिन्छ । बिस्तारै हामी यो प्रविधिबाट पनि माथि उठेर सबै मोबाइलबाटै तिर्नसक्ने गरी राष्ट्र बैंकले परिमार्जन गर्दैछ । पछिल्लो चरणमा मोबाइल बैंकिङबाट राजस्व भुक्तानी दिने ठूलो सिलिङको पेमेन्ट गर्न दिने कामहरूलाई पनि अगाडि बढाउँदै छौं । यसका लागि विभिन्न किसिमका सीमाहरू लिएर आउँदैछ । मोबाइलबाट ट्रान्सफर गर्दा हुण्डीका काम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बिलबमोजिमको भुक्तानी हुनसक्ने गरी बिल बमोजिको रकममा टाइअप गर्ने र सीमा तोक्ने काम हुँदैछ । 


पछिल्लो समय त जुनसुकै बैंकबाट बैकिङ सेवा शुरु गर्नका लागि समेत राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । यो भनेको आफूले कुनै बैंकमा जम्मा गरेको रकम झिक्न त्यही बैंक र बैंकको सम्बन्धित शाखामा जानुपर्ने झन्झटबाट मुक्त भएको छ । अब एउटा बैंकमा जम्मा गरेको पैसा अर्को बैंकबाट पनि झिक्न पाइन्छ । बैंक–बैंकका बीच हिसाब मिलान हुने काम हुनुपर्छ, जनताले सुविधा पाउनुपर्छ भन्यौं । पहिला त्यस्ता सुविधा भए पनि क्लियरिङमार्फत् हुन्थ्यो । सबैतिरबाट चेक संकलन गरेर राष्ट्र बैंकमा भेला हुने त्यसमा पनि कुन बैंकको कुन हो र कुनचाहिँ शाखाको हो भनेर स्पष्ट गरेपछि सम्बन्धित शाखामा पठाउने, त्यो शाखामा चेक बमोजिमको रकम छ कि छैन, चेकमा गरेको हस्ताक्षर मिल्छ कि मिल्दैन, सबै हेर्नुपर्ने हुन्थ्यो । सम्बन्धित बैंकले प्रमाणित गरिदिएपछि फेरि भोलिपल्ट राष्ट्र बैंकमा ती चेकहरू लिएर सम्बन्धित बैंकका सबै मान्छेहरू  आउँथे । त्यहाँ क्लियरिङको ठूलो बजार लाग्थ्यो । फेरि लगेर हिसाब मिलान गर्थे । अहिले आएर नेपाल क्लियरिङ हाउसको स्थापनासँगै मेला लाग्ने क्रम रोकिएको छ । 


अब नेपाल क्लियरिङ हाउसले पनि गर्न नसकिरहेका काम राष्ट्र बैंकले गर्नेछ ।  कुनै बैंकको चेक कुनै बैंकको खातामा पठाउनुप¥यो भने क्लियरिङ हाउसबाट १० मिनेट लाग्छ । योभन्दा पनि अघि बढेर रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ल्याउने तयारी भइरहेको छ । त्यसका लागि भेण्डर छनौट गरेर काम अघि बढेको छ । यदि त्यो व्यवस्था भयो भने अहिले बैंक तथा वित्तीय संस्थाको १० मिनेटमा चेक क्लियर हुन्थ्यो भने त्यसले उतिबेलै क्लियर गर्नेछ । ठूलो सरकारी पेमेन्ट, ट्रेजरी बिलका पेमेन्ट सरकारका बीचमा सेन्ट्रल बैंकका बीचमा हुने कारोबार र बैंकका बीचमा हुने कारोबारलाई पनि आरटीसीएस सेटलमेन्ट लागू गर्न गइरहेका छौं । यो १८ महिनाभित्र आइ सक्छ । 


त्योभन्दा पनि अघि बढेर हामी ३ वर्षभित्रै ‘नेशनल गेटवे पेमेन्ट सिस्टम’ ल्याउँदै छौं ।  अहिले भुक्तानी (पेमेन्ट) का कामहरू हजार ठाउँबाट भइरहेका छन् । यी सबैलाई व्यवस्थित गर्न गेटवे पेमेन्ट सिस्टम ल्याउन लागेका हौं । गेटवे भनेको नियन्त्रण गर्ने स्थान हो । सबैतिरको पेमेन्ट बगेर यहाँ आउनुपर्छ । त्यो राष्ट्र बैंकमा रहन्छ । र, राष्ट्र बैंकमार्फत् मात्र निस्कन्छ । 


अहिले देशबाट सामान आयात गर्नुपर्यो भने एलसी खोल्नुपर्छ । यो विभिन्न देशको विभिन्न मुद्रामा खोलिन्छ । अधिकांशले डलरमै एलसी खोलेका हुन्छन् । डलरमा एलसी खोलेपछि जुन बैंकले पेमेन्ट गर्छ, त्यो पेमेन्ट अमेरिका नगई कुनै पनि देशमा भुक्तान गर्न सक्तैन । किनभने युएस डलरको आधिकारिक मुलुक अमेरिका हो । युएस डलरको कारोबार गर्ने निकाल्ने संस्था भनेको अमेरिकाको सेन्ट्रल बैंक हो । यसकारण जसरी डलरमा खोलिएको एलसीको करोबार अमेरिकामा गएर स्क्रिन भएर मात्र सम्बन्धित देशमा जान्छ, त्यसैगरी बैंक तथा वित्तीय संस्थाले गरेको कामको फ्लो राष्ट्र बैंकमा रहेको नेशनल गेटवे पेमेन्टमा आउँछ । यहाँबाट स्क्रिनिङ भएर सम्बन्धित ठाउँमा जान्छ । यसो हुँदा नजानुपर्ने ठाउँमा पेमेन्ट गइरहेको छ भने त्यसले रोकिदिन्छ । यद्यपि, यसमा केही चुनौती पनि छन् । भुक्तानी नदिनुपर्ने गलत मान्छेको हातमा भुक्तानी पुग्यो र समयमै जानकारी भयो भने त्यसलाई रोक्न सकियो । 


अन्तर्राष्ट्रिय तहमा प्रविधिको विकाससँगै क्रिप्टो करेन्सी (अवास्तविक मुद्रा) भनेर आएको छ । रातारात त्यसको मूल्यमा वृद्धि भएको छ । कोडको आधारमा भन्दा त्यसले पेमेन्ट लिने प्रविधि विकास भएको छ । तर हाम्रो मुलुकमा क्रिप्टो करेन्सीलाई निरुत्साहित गर्नका लागि नेपालमा गैरकानुनी घोषणा गरिएको छ । हुण्डीलाई पनि अवैध कारोबार भनेका छौं । बैंकले ट्रान्सफर गर्दा शुल्क लाग्ने लोभमा हुण्डीलाई बढावा दिनुहँुदैन । यो विदेशी विनिमय अपचलन गर्ने एउटा अपराध हो । प्रविधिले सुविधासँगै चुनौती पनि थपिदिएको छ । 

 

(लेखक नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर हुन् । )

प्रतिकृया दिनुहोस

...नत्र कसले लिने क्रिकेट हत्याको दोष ?

नेपाल विश्वमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मात्र १६ मुलुक मध्ये एक बनेको छ । गर्वको कुरो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले

सरस्वतीको अधिकार भर्सेज गैंडाको अधिकार

कुरो मार्च ४, २०१८ को । स्थान, मार्टिन चौतारीको हल । मार्च महिनाभरी नै महिला विषयक छलफल चलाउने क्रममा मार्टिन चौतारीकै पहलमा चलिरहेको छलफलमा, इतिहासकार

प्रतिभा पलायन : रोक्ने कसरी ?

प्रतिभा पलायनको कुरो बेलाबेलामा चर्चामा आउने गर्छ । विदेशमा गएर अनुशन्धान कार्यमा लागेका नेपाली वैज्ञानिकहरूलाई आकर्षित गरेर नेपाल फर्काउने