‘सूचीकार’ सपना पछ्याउँदै 

जनतापोस्ट

janataPost

जितेन्द्र भण्डारी, पाँचथर । पाँचथर भारपाकी जेनी राई फिदिममा डेरा गरेर बस्छिन् । फिदिम उच्च माविमा कक्षा ११ मा पढ्ने उनलाई बिहानको कक्षा सकिनासाथ कोठा पुग्ने चटारो हुन्छ । कोठा पुगेर खाना बनाउने अनि खाइबरी दिउँसो १२ बजे हुलाकलाइनस्थित रचना एण्ड सुनिता टेलर्स ट्रेनिङ सेन्टर पुग्नु उनको दैनिकी भएको छ । साँझ पाँच बजेसम्म कपडा, कैंची र मेसिनसँग खेलेर बित्छ उनको समय ।


भर्खरै किशोरावस्था छिचोल्दै गरेकी जेनीको यस्तो दैनिकी सुरु भएको दुई महिना भयो । सँगैका साथीहरू घुमघाम, हाँसखेल र रमाइलोमा फुर्सदको समय कटाउँछन् । जेनी भने राम्रो सूचिकार बन्ने सपना र साधनामा दिनभर व्यस्त हुन्छिन् । ‘थोरै लगानीमा राम्रो कमाइ गर्न सकिने भएकोले सिलाइकटाइको तालिम लिन थालेकी हुँ,’ ट्रेनिङ सेन्टरमै भेटिएकी जेनीले तालिम लिनुको कारण खोलिन् । 


अहिले फिदिम बजारमा खोलिएका सिलाइकटाइ ट्रेनिङ सेन्टरमा जेनीजस्तै तालिम लिने महिलाहरूको भीड लाग्छ । तीन वर्ष अघि रचना एण्ड सुनिता टेलर्स ट्रेनिङ सेन्टर खोलेकी बर्दियाकी सुनिता चौधरी अहिले आफूले दैनिक १५ जना महिलालाई तालिम दिइरहेको बताउँछिन् । 


निर्माणधिन तल्लो हेंवा हाइड्रोमा काम गर्न आएका श्रीमान्सँगै बर्दियाबाट पाँचथर आइपुगेकी सुनिताले तीन वर्षअघि ६० हजार लगानी गरेर सुरु गरेको यो व्यवसायले अहिले मासिक २० हजार आम्दानी दिइरहेको छ । ‘पहिले नै सिकेकी थिएँ, सीप हुँदाहुँदै किन त्यसै बस्नु भनेर व्यवसाय सुरु गरेको हुँ,’ सुनिताले सुनाइन्, ‘हातमा सीप छ भने जहाँ गए पनि भोकै बस्नु पर्दैन, मसँग तालिम लिइरहेका दिदीबहीनिहरूलाई पनि यहीं कुरा भन्छु ।’


ज्योति लेडिज टेलर्समा अहिले २५ जना महिलाले तालिम लिइरहेको सञ्चालक ज्योति गुरुङले बताइन् । सुरुमा चितवनदेखि व्यवसाय सुरु गरेकी ज्योति सिरहा हुँदै श्रीमान्को जागिरको शिलशिलामा पाँच वर्ष अघि फिदिम आइन् । यहाँ पुनः एक लाख लगानी गरेर पुरानै व्यवसायलाई निरन्तरता दिइन्, अहिले मासिक १५ हजार बचत गर्छिन् । त्यो सँगै आफूजस्तै दर्जनौं महिलाहरूलाई तालिम दिएर आत्मनिर्भर बनाउन सकेकोमा गर्वसमेत गर्छिन् उनी । ‘राम्रो सूचिकार बन्ने सपना भेट्न दिनहुँ यहाँ आइरहेकी छु,’ तालिमका सहभागी एक महिलाले भनिन् ।


दुई महिनादेखि रचना एण्ड सुनिता ट्रेनिङ सेन्टर धाइरहेकी लुङरूपाकी सुशीला लिम्बू वर्षदिनपछि आफैं मेसिन किनेर व्यवसाय सुरु गर्ने सोचमा छिन् । ‘सके भविष्यमा ट्रेनिङ सेन्टर नै खोल्ने सोच छ,’ उनले भनिन् । उस्तै सोच छ– लखनमार्ग स्थित फिदिम मिनिमार्केटमा रहेको डाँफेमुनाल टेलर्समा तालिम लिइरहेकी पाँचथर सिवाकी दीपा तुम्रोककोे पनि । डाँफेमुनालमा पनि १२ जना महिलालाई तालिम दिइरहेकी छिन् सञ्चालिका नविना लिम्बू । उनीहरू सबैले उही सूचिकार सपना पछ्याइरहेका छन् ।


उनीहरूलाई तालिम लिएबापत ट्रेनिङ सेन्टरले मासिक एक हजार देखि १५ सयसम्म शुल्क लिन्छ । सेन्टरको नियमअनुसार कपडा आफैंले किन्ने वा त्यहीँ उपलब्ध हुने गर्छ । निरन्तर कक्षामा उपस्थित भएमा महिनादिनमै सामान्य कपडा तयार पार्न सक्ने बनाइने डाँफे मुनालका प्रशिक्षक नविना बताउँछिन् । आफैंले व्यवसाय सुरु गर्ने हुनका लागि भने ६ महिनादेखि १ वर्षसम्म लाग्ने उनको भनाइ छ । 


पहिले–पहिले दलित जातिका मानिसले मात्र गर्ने यो व्यवसायप्रति अहिले सबै जातिका मानिसहरूको आकर्षण बढ्दै गएको छ । त्यसमा पनि खास गरेर महिलाहरूको । घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका ४१ टेलरिङ सेन्टरमध्ये २४ वटा तालिम दिने उदेस्यले दर्ता भएका थिए । तीमध्ये १२ वटा फिदिम नगरपालिका भित्रका छन् । हाल एउटाको ठाउँसारी भएको बाहेक अन्य सबै सेन्टर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

शेयर बजार : एक अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, ५ फागुन । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९

मौरी पालनबाट मासिक डेढ लाख कमाइ

काठमाडौं, ५ फागुन । दीपक कार्की ३७ वर्ष लागे । खाडी मुलुकबाट फर्केर उनी मौरीपालनमा तल्लीन देखिन्छन् अचेल । मौरी पालनबाट उनले मासिक डेढ लाख आम्दनी गर्दै

फागुन दोस्रो सातादेखि सिटामोल उत्पादन सुरु

काठमाडौं, ५ फागुन । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले फागुनको दोस्रो साताबाट सिटामोल उत्पादन गर्ने भएको छ । सिटामोल उत्पादनका लागि सम्पूर्ण