‘सहअध्यक्ष मोडलमा एकता’

सरकारको नेतृत्व आलोपालो 

janataPost

काठमाडौं, १ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारको नेतृत्व आलोपालो र एकीकृत पार्टीको नेतृत्व संयुक्त रूपमा गर्ने सहमति भएको छ । 


ललितपुरको मानभवनस्थित माओवादी निकट एक व्यपारीको घरमा सोमबार भएको करिब तीन घण्टा लामो छलफलमा पहिला ओली प्रधानमन्त्री हुने र त्यसपछि बाँकी साढे दुई बर्ष दाहालले सरकारको नेतृत्व गर्ने सहमति भएको हो । यसैगरी पार्टीको नेतृत्व दुबै नेता ‘सहअध्यक्ष’ रहने गरी सहमति नजिक पुगेको दुबै निकट स्रोतहरूले जानकारी दिएका छन् । यद्यपि, यस्तो सहमति भने एकता महाधिवेशन छिट्टै गर्ने सर्तमा भएको बताइएको छ । 


‘एकता महाधिवेशन छिट्टै हुने अवस्था रहेन भने दुबै अध्यक्षहरू सह–अध्यक्षका रूपमा रहनुहुने छ’ माओवादी केन्द्रका अध्यक्षनिकट एक नेताले जनतापोस्टसँग भने, ‘पछिल्लो छलफलपछि सहअध्यक्षकै मोडलमा पार्टी एकीकरण हुने सम्भावना बलियो देखिन्छ ।’


चुनाव अगाडिको गोप्य सहमतिअनुसार दुई कार्यकारी पद आलोपालो नेतृत्व गर्ने गरी बाम गठबन्धन भएको थियो । तर, निर्वाचनपछि एमाले अध्यक्ष भन्दा पनि दोस्रो तहका नेता माओवादीलाई अध्यक्ष दिन तयार नहुँदा एकीकरण प्रक्रिया लम्बिएको थियो । 


चुनावपछि एमालेले सरकार र पार्टीको नेतृत्व नछोड्ने संकेत गरेपछि पार्टी एकतामा केही समस्या देखिएको थियो । ‘एमाले सरकार, पार्टी दुबैको नेतृत्व छोड्न तयार थिएन । तर, आज दुई अध्यक्षबीच सरकारको नेतृत्व आलोपालो र पार्टीमा संयुक्त नेतृत्वको मोडलमा आगाडि बढ्ने सहमति भएको छ,’ स्रोतले भन्यो ।
एकीकरणलाई टुंगोमा पु¥याउन बनेको पार्टी संयोजन समितिले नेतृत्वबारे टुंगो लगाउने अधिकार दुई अध्यक्षलाई दिएको थियो । जसअनुसार ओली र दाहालले बारम्बार ‘वान टू वान’ वार्ता गर्दै आएका थिए । तर, पछिल्लो  छलफलमा महाधिवेशनसम्म सरकार र पार्टीको नेतृत्व ओलीले नै गर्ने मनसाय देखाएका थिए । जसले गर्दा दाहालले हालै चितवनमा सार्वजनिक रूपमै ‘देशको हितका लागि आफूले अर्को फड्को मार्न सक्ने’ बताएका थिए । दाहालको उक्त अभिव्यक्ति घुमाउरो पारामा एकीकरणमा सहमति नभएको अवस्थामा आफूले फरक बाटो लिने संकेत गरेका थिए । 


दाहालको सो अभिव्यक्ति र चौतर्फि दबाबले गर्दा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले फागुन भित्र पार्टी एकीकरण टुंग्गोमा पु¥याउने निर्णय गरेको थियो ।


एमाले स्रोतले पार्टीको नेतृत्व, वैचारिक र सांगठनिक स्वरूप बारे समेत दुई नेता सहमति नजिक पुगेको बताएको छ । ओली र दाहालबीच मंगलबार पुनः छलफल हुने र बुधबार एकता संयोजन समितिबाट एकीकरणको मोडालिटीलाई अन्तिमरूप दिने सहमति भएको बताइएको छ । 


एमाले उपाध्यक्ष भीम रावलका अनुसार सरकारको नेतृत्व ओली र दाहालले आलोपालो गर्ने छन् । ‘ओली–प्रचण्डबीच भएको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी भएको छ,’ उनले भने, ‘१७ असोजमा वाम गठबन्धन घोषणा भएकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो गर्ने आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भइसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ ।’


रावलले सरकार सञ्चालनकै क्रममा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिने दुई नेताबीच सहमति भएको दाबी गरे । उनले एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे । उनले भने, ‘अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, देश र जनताले भनिसक्यो त ।’ 


कुन नेतालाई कुन बेला कुन जिम्मेवारी दिने भन्ने कुरा समयले निर्धारण गर्ने र दुवै पार्टी एक भएकोले आलोपालो भन्ने कुरा नहुने रावलको भनाई थियो । एकता प्रक्रियाको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै रावलले भने,‘एकताले ठोसरूप लिनेवित्तिकै कार्यदलमार्फत सबै कुरा बाहिर ल्याउँछौं, सरकार गठन र एकता सँगसँगै अघि बढाउँछौं, एक अर्काका संवेदनशिलतालाई बुझेर अघि बढ्छौं, एकताबारे अब कुनै शंका वा भ्रम पाल्नुपर्ने जरुरी छैन।’ 
साथै उनले एकताबारे अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भइसकेको बताए । ‘अहिलेसम्म हामीले एकताबारे पाँच चरणमा छलफल गरिसकेका छौं, अब नेतृत्व र नीतिमा गहन ढंगले छलफल चलिरहेको छ, एकताको विभिन्न चरणहरू त पार भइसके नि,’ उनले भने । 


त्यसैगरी झापा पुगेका माओवादी नेता जनार्दन शर्माले पार्टी एकता प्रक्रिया पूर्णता पाउने घडीमा पुगिसकेको बताए । उनले सरकार निर्माण प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने दाबी गरे । फागुनको पहिलो हप्ता ओली मुलुकको प्रधानमन्त्री बन्ने र पार्टी एकता घोषणा हुने बताए । उनले ‘एक व्यक्ति एक पद’ लागूगर्नु राम्रो हुने प्रतिक्रिया दिए । ‘एक व्यक्ति एक पद लागूगर्न सक्नु राम्रो कुरा हो,’ उनले भने, ‘तर, तत्काल नभएर महाधिवेशनपछि त्यो हुनसक्छ ।’


सिद्धान्त तथा वैचारिक विषयमा पनि दुई अध्यक्ष सहमति नजिक पुगेको स्रोतको दाबी छ । दुई नेताले जनताको बहुदलीय जनवाद र माओवादलाई तत्काललाई एकीकृत पार्टीको वैचारिक आधार बनाउने सहमति भएको छ ।


दुई नेताको सहमति र पार्टी एकीकरणका लागि विभिन्न चरणमा भएको छलफलबारे जाककारी दिँदै नेता शर्माले भने, ‘२८ सालदेखि फरक धाराका रूपमा अघि बढेका दुईवटा धाराहरू अब एक हुँदैछन्, यसमा कुनै शंका छैन,’ उनले भने, भने, ‘एउटा धारा झापा आन्दोदन हुँदै अघि बढ्यो, अर्को सशस्त्र क्रान्तिको बाटो हुँदै अघि बढ्यो, जनमतको कदर गर्दै अब एक हुने अन्तिम कसरतमा छौं ।’


शर्माले पनि दुई अध्यक्षबीच पार्टी नेतृत्व सहअध्यक्षको मोडालिटीमा एकता प्रक्रिया अगाडि बढाउने सहमति गरेको बताए । दुई नेताबीच तल्लो तहसम्मको सांगठनिक स्वरूपबारे पनि छलफल गरेको र त्यसबारे कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

मन्त्रीपरिषद बैठक : जिसस संयोजकलाई रातो पासपोर्ट

काठमाडौं, १२ चैत । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले कूटनीतिक राहदनी प्रयोगकर्ताको सूची संसोधन गरेको छ । बैठकले जिल्ला समन्वय समितिका संयोजकले

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

राष्ट्रपतिले चैत १५ गते संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ ।  मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय