शिवको महानता र महिमा

जनतापोस्ट

janataPost
लेखक : विश्वनाथ खरेल

विश्वभरका हिन्दू धर्मावलम्बीका लागि महाशिवरात्री पर्व महान् अवसर हो । ब्रह्माण्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका पालनकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन नेपाल भूमिमा अवतरण हुनुभएको आजको दिनलाई शिवरात्री पर्वका रूपमा मनाइन्छ । भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर यो पर्व मनाइन्छ । सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत छन् भन्ने विश्वास गरिन्छ । 


अजन्मा भएर पनि उहाँले प्राणीहरूको हित गर्न धर्तीमा भोलेबाबाको रूपमा भक्तलाई दर्शन दिनुहुन्छ । सबैको कल्याण गर्ने भगवान् शिव नै पशुपतिनाथ, विश्वनाथ, रुद्र, शंकर, अनेक नाम र अनेक रूपमा यस धर्तीमा प्रकट हुनुभएको छ । पशुरुपी हामी मानवका उहाँ पति अर्थात मालिक हुनुहुन्छ । त्यसैले उहाँको नाम पशुपतिनाथ हुन गएको विश्वास छ । विश्वकै मालिक भएकाले उहाँलाई विश्वनाथ भनियो । आफना भक्तले जे मागे पनि दिने भएकाले उहाँ भोलेनाथ हुनुभयो र पापी अन्यायी, अधर्मीलाई कुकर्मको सँजाय दिने भएकाले उनीहरूका लागि उहाँ काल, महाकाल र रुद्र बन्नुभएको छ । 


पशुपतिनाथको ठूलो महिमा छ । पशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे बेद, पुराण, धार्मिक साहित्यक र तान्त्रिक ग्रन्थहरूमा विस्तृत रूपमा पाइन्छ । हाम्रोे हिन्दू समाजमा पनि परापूर्वकालदेखि नै शिवजी पूजा–आजा, उपासना गर्ने चलन कायमै छ । नेपालका साथै भारतलगायत विश्वका हिन्दूहरूको बाहुल्य भएका क्षेत्रका शिवमन्दिर, शिवालय, शिवलिङ्गेश्वर, ज्योतिर्लिङ्गेश्वर आदि स्थानमा यस पर्वमा असंख्य भक्तजनको भीड लाग्छ । 


फाल्गुन कृष्ण चतुर्दशीमा महाशिवरात्री पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा महत्वका साथ सम्पन्न गरिन्छ । भारतलगायत विश्वका विभिन्न राष्ट्रहरूबाट र स्वदेशमा साधु–सन्त, महन्थ, भक्तजन शिवरात्रीपर्वमा पशुपतिनाथको पूजा–आराधना गरी दर्शन गर्छन । महाशिवरात्रीका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ । सन्तका लागि शिव र दुष्टका लागि महाकालको रूपमा रहनु भएका शिवको नाम स्मरण, आराधना, पूजा, महिमागानले व्यक्तिले शिवमात्र भने पनि सम्पूर्ण समाजको भलाई हुन्छ भन्ने विश्वास छ । 


मानवले सत्कर्म गरेमा सद्बुद्धि मिल्दछ । बुद्धिमत्तापूर्वक गरिएको कामबाट सम्पूर्ण समाजको भलाई हुन्छ । वर्तमान विश्वमा मानिसहरू भौतिक सुखको पछाडि दौडँदा अँध्यारो कुवामा खसेको पत्तै पाउँदैनन् । भौतिकवाद विनाशवाद हो भन्ने धेरैलाई ज्ञान नभएकाले भौतिक सुखमा नै सम्पूर्ण मानव लालायित छन् । भौतिक प्रविधिले मानवलाई क्षणिक सुख र तुष्टिमात्र दिन्छ । यो क्षणिक र नाशवान छ । आध्यत्मिक ज्ञानको अभावमा मानिस पशु झैं भएका छन् । यसर्थ समाजमा कलह, हिंसा, अशान्ति फैलिरहेको छ । आध्यत्मिक ज्ञानले परिपूर्ण मानवसमाजमा अभाव र अशान्तिको स्थान हुँदैन । 

 

आजका युवा सही ज्ञानको अभावमा विनाशकारी बाटोतर्फ अग्रसर हुँदैछन् । यो उनीहरूको दोष होइन । सामाजिक संरचना, शैक्षिक स्थिति र समुचित मार्गदर्शन नपाएर युवावर्ग क्षणिक सुखका लागि लागूपदार्थको दुव्र्यसनी बनेका छन् ।


भगवान् शिवको स्वरुपको दर्शन पाएका सन्त, तपस्वी, यशस्वी महापुरुषहरूले उहाँको परिकल्पना गरेका छन् । हामी प्राणीहरूसँग दुईवटा चर्मचक्षु त छ तर, तेश्रो ज्ञानचक्षु छैन । ज्ञानचक्षुको अभावमा नै हामी यस नाशवान संसारमा एक दिन नाश हुने शरीरका लागि सुखशयल, आरामको खोजीमा अनमोल जीवन गुमाउँछांै । 


शिवको तेस्रो नेत्रको आराधना गरेमा हाम्रो ज्ञानको ढोेका खुला हुन्छ । हामीलाई शाश्वत शान्तिको ढोका हो भन्ने तथ्यलाई आज शिवरात्रीको दिनमा हामीले स्मरण गर्न सकेमा हामीलाई परम शान्ति हुन्छ । शिवले सबैलाई सद्बुद्धि दिनुहुन्छ र पनि मानिसले त्यसलाई प्रयोग गर्न नजानेर दुःखको जञ्जालमा फसिरहेका छन् । 


आजका युवा सही ज्ञानको अभावमा विनाशकारी बाटोतर्फ अग्रसर हुँदैछन् । यो उनीहरूको दोष होइन । सामाजिक संरचना, शैक्षिक स्थिति र समुचित मार्गदर्शन नपाएर युवावर्ग क्षणिक सुखका लागि लागूपदार्थको दुव्र्यसनी बनेका छन् । लागूपदार्थले एक देशको मात्र होइन, विश्वकै युवावर्गलाई आफ्नो दास बनाइसकेको छ । दिनानुदिन यो क्रम बढ्दो छ । युवावर्गलाई समुचित शिक्षा दिएर अभिभावकहरूले सत्मार्ग देखाएर, भौतिकवाद र अध्यात्मबादका बारेमा यथेष्ट ज्ञान गराएर कुलतबाट छुटकारा दिलाउन सकिन्छ । 


समग्रमा प्रत्येक साल फागुन कृष्ण चतुर्दशीको दिन महाशिवरात्री पर्व मनाइन्छ । शिवलाई यजुर्वेदमा स्पष्ट रूपमा वर्णन गरेर उनलाई वैदिक देवताको रूप प्रदान गरिएको पाइन्छ । यसर्थ शिवजीको आराधना प्राचिन कालदेखि नै भएको बुझिन्छ । हाम्री आराध्य देव शिवजीलाई तन, मन, धनले श्रद्धा गर्छौं । जसमा शंकर, महेश, पशुपति, रुद्र, भोलानाथ, भोलेबाबा, महादेव, शम्भु, कैलासपति, गिरिराज, नीलकण्ठ आदि छन् । हामी उनलाई ‘पशुपति’ को संज्ञाले बडो श्रद्धा गर्दछौं । सारा नेपालीहरू चाहे हिन्दू होउन् वा वौद्ध पशुपतिनाथको मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक आराधाना गर्र्छन । यस पर्वमा नेपाली मात्र नभएर छिमेकी मुलुक भारतका असंख्य श्रद्धालु भक्तजनको घँुइचो लाग्दछ ।


‘पशुपति क्षेत्र’ले गर्दा नेपालको धार्मिक क्षेत्रका गौरवगाथालाई विश्वभरी चिनाउँछ । विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा हिन्दूधर्मको प्रधानता छ । यसरी प्राचिन नेपालमा पशुपतिनाथको अति नै महत्वपूर्ण स्थान छ । पशुपतिको चर्चा र हिन्दूहरूको बढ्दो धार्मिक प्रचार एवं प्रभाव सहन नसकी यसलाई नष्ट गर्ने उद्देश्यले तत्कालीन बंगालका सुलतान समसुद्दीनद्वारा सन् १३४६ अर्थात विस १४०९ मंसिरमा काठमाडौं उपत्यकाभित्रसमेत आक्रमण गरे । त्यस क्रममा विभिन्न हिन्दू र बौद्ध गुम्बा, मठ–मन्दिरका अतिरिक्त पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्ने तथा अन्य मन्दिर देवालय, बौद्धस्तुपहरू भत्काउने, बिगार्ने निन्दनीय कार्य भए । प्रसस्तः धन–सम्पति लुटेर काठमाडौं उपत्यकामा हाहाकार मच्चाई ध्वंसात्मक कार्य गरेर हिन्दूधर्मको उपहास गरेका थिए । 


सबैको कल्याण गर्न शंकरले हलाहल विषपान गर्नुभएको हो । समाजका अहितकारी वस्तुहरू अर्थात सबै लागूपर्दाथ हामी शिवलाई समर्पण गरौं । शिवले हामीलाई त्यसबाट रक्षा गर्नुहुन्छ । हिन्दूहरू नेपालमा मात्र होइन विश्वभरी छन् । त्यसैकारण महाशिवरात्रीको पर्व नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि उत्साह र भक्तिभावमा मनाइन्छ । यस दिन भोले बाबाको शोडषोपचारको विधिले पूजा अर्चना गरिन्छ । आह्वान, आसन, पदय, अष्र्य, आचमन, स्नान, वस्त्र, उपवीत, गन्धपुष्प, धूव दिप, नैवेध्य, तामूल, दक्षिणा, आरती, प्रदक्षिण आदि गरिन्छ । यस अवसरमा श्रद्धालुहरू उपवास वस्तछन् । ती उपवास बस्नेहरू र अन्य भक्तजन मन्दिर अधिल्तिर भजन कीर्तन गरी भगवानमा लिन हुन्छन् । यही दिन टुडिखेलमा राष्ट्र प्रमुखको सवारी भई विभिन्न रोचक कार्यक्रमका साथ सोही अवसरमा देशवासीको नाममा शुभेच्छा प्रकट गरिने परम्परा अद्यावधिक कायम छ ।

प्रतिकृया दिनुहोस

‘संविधान कार्यान्वयनको जिम्मेवारी पूरा भयो’

प्रधानमन्त्री शेरबहादुर देउवा संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्न पाएको जिम्मेवारी पुरा गर्दै बिहीबार प्रधानमन्त्रीको

नेपाल–पश्चिम सम्बन्ध र दृष्टिकोण

नेपालको पश्चिमा देशहरूसँगको सम्बन्ध अमेरिका र बेलायतको दृष्टिबाट व्याख्या हुँदै आएको छ । सबैभन्दा पहिले बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापना भएको र

कार्यकारीको बहस र वास्तविकता 

राज्यका विभिन्न राजनीतिक संरचनामध्ये शासकीय स्वरुप मूख्य राज्यको संरचना हो । लोकतान्त्रिक संविधानमा संविधानले नै शासकीय स्वरुपको बारेमा स्पष्ट