जय बम भोले ! महाशिवरात्रि

janataPost

घाटमाण्डु यतिखेर साधुमाण्डु भएको छ । चिताबाट उडेको धुवाँ र साधुको चिलिमले छोडेको धुवाँ बराबरी मडारिएको छ, पशुपतिमाथिको आकाशमा । महाशिवरात्रीमा बाबाहरू पुकारिरहेका छन् भगवान् शिवलाई धुमधामले पशुपतिभरी । साधुहरू आगोको धुनी जलाएर बसिरहेका छन् । हातमा चिलिम छ । शिव बुटीको नाम लिँदै तमाखुको कस लिएर मुग्ध भइरहेका साधु बाबाहरू जपिरहेका छन्— ‘जय भोले पशुपतिनाथ !’ 


महाशिवरात्री । फागुन १ गतेको बिहान । फकिर बाबाहरूको बाक्लो लाम छ । जोगीको ४ सम्प्रदाय पशुपतिक्षेत्रमा भेटिन्छन् । सन्यासी, वैष्णव, नानक र उदासी साधु छन् । शिवभक्तका रूपमा चिनिने सन्यासी नागाबाबाहरू हुन् । रामभक्तका रूपमा वैष्णव, शिखका रूपमा नानक र गुरू गोरखनाथभक्तका रूपमा उदासी बाबाहरू छन् । जो फरक पहिरन र फरक आवरणमा देखिन्छन् । 


गेरु वस्त्र, सेतो वस्त्र, कालो वस्त्र र फुस्रो खरानी लगाएका साधुहरूको भीडले पशुपतिलाई ‘एक्स्ट्रा’ आकर्षण बनाइदिएको छ । र महाशिवरात्री शिव—भजनमा घन्किरहेको छ । थरिथरिका माला, हातमा डमरु र चिम्टा, बाक्लो खरानीले पोतिएको नाङ्गो आङ, हरे राम हरे कृष्ण लेखेका वस्त्र, रुद्राक्षका माला, लट्टा परेका जगल्टा, लामा दाह्रीजुँगा र निधारमा फरक—फरक टीकाधारी नागा बाबाहरू पशुपतिभरि गुन्जाइरहेका छन्— बाबा पशुपति नाथ की, जय !


विश्व गिरि नामको साधु, आफूजस्तै साधुले पशुपतिनाथको प्रशंसा सुनाएपछि आएको कुरा सुनाए । पहिलोपटक पशुपति आएका ५५ वर्षीय यी साधु कृष्णको देश मथुराबाट आएका हुन् । चौध वर्षदेखि फकिरगिरी गरेका साधु भन्छन्— ‘जिनेका साहरा मिल गया ।’ 


ढोंगी बाबाले असली बाबा ओझेलमा परेको उसको तर्क छ । बनावटी बाबाहरूले बास्तविक जोगीलाई आममान्छेहरूले  गालीगलौच गर्छन् भन्ने उसको भनाइ पनि छ । मेला सकिएपछि उनी मुक्तिनाथ जाने इच्छा जाहेर गर्छन् । उसलाई यस्ता धामहरूमा पुग्नु ठूलो उपलब्धी लाग्छ । 


हरिद्धार पनि गएका थिए । विश्व गिरि पहिलोपटक नै पशुपति देखेर आकर्षित भएका छन् । उनलाई आफू कुनै नौलो देश नपुगेको महसुस गर्छन् । आफ्नो जहान भेटेकोमा उनी खुशी छन् । उनी साधुहरूको भीडतिर हेरेर भन्छन्— गृहस्थी छोडेर आएका धेरै साधुहरू देखावटी छन् । तिनले केवल साधुको वस्त्र लगाएका मात्र हुन् । 


उनको अर्को अन्दाज छ, बण्जडाहरू, सफेराहरूजस्ता मान्छेहरू फकिर बनेर यहाँ आइरहेका छन् । साधुहरूको भीडमा बनावटी जोगीहरू मिसिए । उनलाई लाग्छ, समय जोगी भइरहेको छ । वास्तवमा यस्ता फकिरले असली सन्यासी मारमा पारेको गुनासो पनि पोख्छन् विश्व गिरि । कपडाले साधु देखिएका हुन् । मनले भने यहाँ थोरै साधु छन् भन्ने तर्क गर्छन् यी साधु । 


पशुपतिको दर्शनले साधु हुनुले सार्थकता पाएकोे बताउँछन् उनी । जिउनुको आनन्द उनले पशुपतिधाममा भेटेको पनि बताउँछन् । दुनियाँ ढोङ्गी देख्छन् उनी । दुनियाँ देखेर आफू विरक्तिएको कुरा सुनाउँछन् उनी । उनको परिवार छैन । साधुको परिवारमा सामेल भएकोमा उनी गद्गद् छन् । 


हातको चिलिम भूइँमा ठोक्दै बसेका अर्का मथुराकै साधु छन् । ती साधु पशुपतिनाथको दर्शन गर्ने धोको पूरा भएको बताउँछन् । केदारनाथ, बद्रिनाथ र अमरनाथजस्ता धार्मिक स्थलहरू घुमिसकेको साधुले पशुपतिनाथको दर्शनले धन्य भएको खुसी व्यक्त गर्दछन् । साधुहरू यस्ता पौराणिक धामहरूमा आफ्ना ‘माथा’ टेकाउन पाउनु, अहो भाग्यमानी मान्छन् । 

‘यहाँसम्मको यात्रा बडो रोमाञ्चक रह्यो ।’ तामिलनाडुका एक स्वामीनाथ नामक साधुले तमिल टोनमै भने । तामिलनाडुबाट हिँडेको पाँचौ दिनमा पशुपतिनाथ पुगेका थिए उनी । रामेश्वरदेखि गोरखपुर हुँदै रक्सौल र वीरगञ्जबाट नेपाल पसेका रहेछन् उनी । सानो पहेंलो झोलाबाट टिकट पनि देखाए । रामेश्वर मन्दिरको वरिपरि रल्लिएका यी साधु्् नेपालमा पहिलोपटक आएका हुन् । यिनी पशुपतिधाम देखेर आश्चर्य प्रकट गर्छन् । पशुपतिको गेटतिर फर्किएर हात जोड्दै भन्छन्— ‘बाबाकी दर्शन पा’कर बहुद आनन्द मिल रहा है ।’


बंगालदेखि कलकत्तासम्मका फकिरहरू पशुपति आइपुगेका छन् । बंगाली लवजमा हिन्दी बोल्ने फकिरहरू गज्जबको आनन्द महसुस गरिरहेका छन् । पूरै भारत घुमिसकेका एक बाबा पहिलोपटक नेपालको पशुपति आइपुगे । जसले पशुपतिलाई अद्भूत कलाको रूपमा हेर्छन् । यत्रो पौराणिक स्थलमा माथा टेकाउन पाउँदामा आफ्नो यात्रा पूर्ण हुनेमा विश्वस्त छन् । पछिल्लो समय अमरनाथ घुमेपछि यहाँको यात्रामा निक्लेका रहेछन् उनी  ।
नेपाली भक्तालुहरू दयालु मान्छन् उनी । यहाँका दर्शालु भक्तालुहरू जोगी फकिरलाई सम्मानपूर्वक हेरेको महुसस गर्छन् । पशुपति सफा र व्यवस्थित पनि देख्छन् । 


बैशाखीको साहरामा हिँडिरहेका छन् एक बाबा । भीडबाट निस्कन उनलाई हम्मे हम्मे भइरहेको छ । एउटा खुट्टा पोलियो भएको रहेछ । हिन्दैमै उनी आफ्नो परिचय दिन्छन्— ‘संङ्गश्री लंगडा बाबा नाम है मेरा ।’


तीस वर्षका ती युवा साधु, आफ्नो नामको बीचमा लङ्गडा जोडेको खुसी छन् । खासमा उसको नाम लालबाबु शाह हो । उनको घर बिहार हो । विकलाङ्ग संङ्गश्री पछिल्लो समय गंगासागर थिए । त्यहीँबाट सीधै पशुपति आइपुगेका रहेछन् । लगभग सयभन्दा बढी साधुहरू बैशाखीकै साहरामा उभिएर कटौरा थापिरहेका छन् ।


पशुपतिको दर्शन गरेर लालबाबुलाई आफू धन्य भएको महसुस गरेका छन् । आफू जस्ता विकलाङ्ग धेरै छन् भन्छन् उनी । पशुपतिको दर्शन गर्न आइपुग्दा आफूलाई विकालाङ्ग नरहेको जस्तो अनुभूति पाएको बताउँछन् उनी । पञ्जाव हरियाणादेखि साउथ भारतसम्मका फकिरहरू पशुपति बाबाको दर्शन गर्न आइसकेका छन् । कलकत्तादेखि हरिद्धारसम्मका जोगिहरूको घुइँचो लागेका छ । 


गोरखपुरका बाबा हात माडिरहेका थिए । उनले तमाखु माडिरहेका थिए, सायद । बिस्तारै उनले आफ्नो चिलिम निकालेर भर्छन् । सल्काएर लामो कश लिन्छन् । आफूलाई छोपिनेगरी उनी धुवाँ उडाउँछन् । धुवाँ फाटेपछि साधुको आँखा बिस्तारै नसालु हुँदै गएको थियो ।  
भारतको तामिलनाडु, कर्नटाका, रामेश्वर, कलकत्ता, हरिद्धार, देहरादुन, युपीलगायतका ठाउँहरूबाट साधुहरू पशुपतिको दर्शन गर्न आइसके । पशुपति क्षेत्रमा लाग्ने पाँच दिने मेलामा


धेरैभन्दा धेरै साधुहरू भारतका विभिन्न सन्यासी अखडाबाट आएका छन् । र विशेषगरी नागा बाबाहरूलाई सन्यासीको सेनाको रूपमा पनि लिइन्छ । यिनीहरूको मुख्य उदेश्य भनेको धर्मको जगेर्ना गर्नु हो । अथवा हिन्दू धर्मको प्रचार गर्नु हो । निरञ्जनी अखडा, जुना अखडा, पञ्चदशनाम अखडा नै जोगीहरूको मख्य अखडाको रूपमा चर्चित छन् । राजधानीको थापाथलीमा पनि सन्यासी अखडा छ । यहाँ पनि जोगीहरूलाई आगोको धुनी दिने र खाना खुवाउने व्यवस्था गरिएको हुन्छ ।  


भोलेनाथको नाम लिँदै झुमिरहेका नागा बाबाहरूले पशुपतिलाई जगाइरहेका छन् । साथसाथै दियो धूप जलाएर भक्तजनहरू शिवको भजन गुनगनाइरहेका छन्— ॐ नम शिवायः


प्रत्येक वर्ष लाग्ने शिवारात्रिको मेलाले हजारौं साधु बाबाहरू यहाँ पुग्छन् । अघिल्लो वर्षभन्दा धेरै बाबाहरू यहाँ आइपुगेको बताउँछन् कृष्णप्रसाद मानन्धर । विगत १८ वर्षदेखि विदेशीहरूलाई गाइड गराउँदै आएका कृष्णप्रसाद अन्दाजी भन्छन— ‘३ हजार बाबाहरू पशुपति पुगिसेका छन् ।’  
यसपालिको महाशिवरात्रीमा भारतबाट बढि साधु बाबाहरू भित्रिएका छन् । भारतीय साधुहरूको भीडमा नेपाली साधुहरू गहुँमा घुनझैं पिसिएका छन् । उनै मानन्धर भन्छन्— ‘चारदिनलाई पशुपतिनाथ ‘ओपन युनिभर्सिटी’ हो साधुहरूको लागि ।’ 


राममन्दिर, गोरखनाथ, वनकाली, भष्मेश्वर, अन्नपुरम्, पशुपति गरेर हजारांै साधुहरूको चहलपहल बढेको छ । यिनीहरू रातभरी जागा बसेर शिवको नाम पुकारीरहन्छन् । उक्त पिठहरूमा साधुहरूको लागि  विशेष सुविधाहरू पनि जुराइएको छ ।


पशुपतिक्षेत्र आइपुगेका सबै साधुहरूको व्यवस्थापनमा खटिएको छ, गुठी संस्थान । साधुहरूको लागि थरीथरीको खानाको व्यवस्था पनि गरिएको छ । एकदिन पुरी तरकारी, एकदिन हलुवा, एकछाक मालपुवा, तरकारी र शिवरात्रिको दिनमा फलफूलको व्यवस्था गरेको छ गुठी संस्थानले । थप एककिलो फलफूल र आधा केजी दही प्रत्येक जोगीलाई खुवाइने रहेछ । अन्तिम दिन भने शुद्ध घीउमा पकाएको एकपाउ पेडा दिएर बिदा गर्ने जोहो पनि गुठी संस्थानले गरेको बताउँछ । यहाँ आउने प्रत्येक साधुलाई दक्षिणा दिएर फर्काउने रीत भएकोले त्यसको व्यवस्थापन पनि गरिएका बताउँछ गुठीले । जोगीहरूको तहअनुसार उक्त दक्षिणा दिने परम्परा छ । 


गुठीका एक कर्मचारी भन्छन्— ३ सयदेखि १७ रूपैयाँसम्म दिने गरिन्छ ।’
साधाना गरेको, गृहस्थ बसेर साधना गरेको, लोभलाई जितेको, काममा जितेको र नग्न रहेका बाबाहरू जस्ता साधुहरूलाई वर्गीकरणमा राखिएको छ । स्त्रीप्रति काम वासना नराख्ने नग्न बाबा अझ विशेष साधु रहेका ठम्याइन्छ । ३५ लाख बराबरको खर्च लाग्ने अनुमान छ संस्थानको । ३५ सयभन्दा बढी नागा र अन्य साधुहरू यहाँ आइपुगेको बताउँछ संस्थानका एक कर्मचारी । यो वर्ष थप बढ्ने अनुमान पनि छ । 


साधुहरू रातभरि जागा बस्ने भएकोले आगो अनिवार्य चाहिन्छ । उनीहरूलाई आगोको धुनी र शिवको महिमा निरन्तर खोजिरहन्छन् । एकजना बाबाको लागि एक क्वीन्टल दाउरा लाग्ने बताउँछन् पर्यटकलाई गाइड गर्दै आएका कमल मिश्र । पाँच दिनको लागि पाँच क्वीन्टल दाउरा एक साधुलाई जुटाइदिनु पर्नेरहेछ । दाउराहरूको जोहो केही गुठी संस्थान र केही माडेहरूले समेत गरिदिने रहेछन् ।  


शिवरात्रि धुवाँमाय नहोस् । मन्त्रमुग्ध छन् साधुहरू शिवको नाममा । तर भाङ, गाँजा, जस्ता शिवका नाममा खाइने बुटीलाई निषेध भने गरिएको छ । अरूलाई सेवन गर्न सहयोग नगर्ने र आफूले समेत सेवन नगर्ने भनी साधुहरूलाई आग्रह पनि गरिएको छ । अघिल्ला वर्षहरूमा भन्दा यसवर्ष अझ व्यवस्थित गरिएको बताउँछन् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकाल । धार्मिक र आध्यात्मिक माहौलका साथ आम मान्छेमा आस्था जगाउने वातावरण सृजना गर्नमा जुटेका छन् पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरू । 


महाशिवरात्रीको पूजाआजा भव्यताका साथ सम्पन्न होस् । भक्तजनले चिताएको पुगोस् । महाशिवरात्रीको सबैलाई शुभकामना ।

प्रतिकृया दिनुहोस

२०४५ को नाकाबन्दी : एउटा पूजारीका कारण देशले ९ महिना नाकाबन्दी सामना गर्यो

कुनै पनि नयाँ निर्णय लिँदा सन्दर्भ वा उदाहरणका लागि हामी इतिहासलाई नै फर्किएर हेर्छौं । त्यस्तै इतिहासदेखि वर्तमानसम्म हामीले भोग्दै आएको एउटा

गुफा बसेपछि विधुवा भइन्न

ठ्याक्कै याद छैन म कति वर्षको थिए । सायद, १ कक्षा पढ्थे । त्यस्तै ८ वर्ष जति थिएँ । म अचम्ममा पर्दैथे । एकातर्फ अजी (हजुरमाले) टीका लगाइ, सगुन दिदै

शुल्क नलिँदैमा शिक्षा निःशुल्क हुँदैन

संविधानले तीनथरीलाई उच्च शिक्षासम्म निःशुल्क भनेको छ । अपांगता भएका बालबालिका, दलित र विपन्न वर्गका बालबालिकालाई कमसेकम निःशुल्क रूपमा पढाउनै पर्छ