कर्णालीका सुइना 

janataPost

सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यथार्थ हो । कुनैबेला कर्णाली समृद्ध थियो । खानको लागि अर्काको हात थाप्नु पर्थेन । मानिसहरू मिहेनती थिए । आफूलाई पुग्ने अन्नपात गाउँमा फलाउँथे । पालिएका भेडा, च्याङ्ग्रा मासुको लागि पर्याप्त हुन्थ्यो । यहाँ फल्ने अन्नपात र पालिएका बस्तुभाउको बेचविखनबाट राम्रो आम्दानी हुन्थ्यो । उनीहरू खुसी र सुखी थिए । जमाना अनुसार यहाँ कुनै पनि कुराको अभाव थिएन । 


त्यसबेला तराइमा औलो (मलेरिया) माहामारीको रुपमा फैलिएको थियो । औलो लाग्ने डरले मानिसहरू बस्नका लागि डाडाँकाडाँ रोज्थे । तराई रोजाई बनेको थिएन, नत अहिले जस्तो खाद्यभण्डार । त्यतीखेर कर्णालीका अन्नपात तराइका गाउँवस्तीसम्म पुग्थे । नुन भोटबाट ल्याइन्थ्यो । समाज आफ्नै परम्परागत पद्दतिमा चलेको थियो । 


२०२० को दशकमा कर्णालीमा सरकारी कार्यालयहरू थपिन थाले । कर्णाली प्रवर्धनका अभियन्ता हरिहर न्यौपानेका अनुसार २०२८ देखि कर्णाली बाहिरका सरकारी कर्मचारी आउने क्रम बढ्न थाल्यो । उनीहरूले स्थानीय उत्पादन रुचाएनन् । योजनावद्ध विकासका लागि यहाँका विकट गाउँ गाउँमा पुगेका उनीहरूलाई रैथाने फापरको ढिडो, मासी धानको रातो भात, कमैको रोटी, हिमाली सिमी, कोलोका परिकार मिठो लागेन । ‘खाना भनेकै सेतो चामलको भात हो’ भन्ने अनर्गल प्रचार गर्दै गाउँघर डुल्न थाले । यो संस्कारको रुपमा विकास भयो । तत्कालिन सरकारको नुन खाएर बिकट ठाउँमा पुगेका सरकारी कर्मचारीका कुरालाई सोझा स्थानीयले सहजै विश्वास गरे । कर्णालीमा बाहिरको चामल लैजान थालियो । 


यतिमात्र होइन तिनै सरकारी कर्मचारीले कर्णालीमा कथित भोकमरीको एजेण्डा बनाए । कर्णालीमा ठूलो परिमाणमा बाहिरको चामल जान थाल्यो । दाल र नुन पनि पुग्यो । चामलको कुपन र शहुलियत दरमा चामल पाउने प्रवन्ध मिलाइयो । चामलमा ठूलो राजनीति भयो । विशेष पर्वहरूमा पाँच किलो चामल निशुल्क उपलव्ध गराउन थाल्यो सरकारले । स्थानीयले पनि कुपन सहित सहुलियतमा चामल पाउन थाले । चामल खरिदबिक्री योजना शुरुवात गरियो । यहाँका केही संघसंस्थाले पनि यसलाई बढावा दिए । गरिबीको बाहानामा अन्न वितरण गर्न थालियो । चामलमा कर्णालीको राजनीति शुरु भयो । सुर्खेत, नेपालगञ्जबाट हेलिकोप्टरमा सदरमुकाममा चामल लैजाने र त्यहाँबाट खच्चडमा ढुवानी गरेर गाउँगाउँमा पु¥याउन थालियो । पार्टीका नेता, कार्यकर्ता र कर्मचारीहरू यसबाट आउने कमिसनको पछाडि लाग्न थाले ।


कृषि कर्मतिर स्थानीयबासीको रुची घट्न थाल्यो । जमिन बाँझै छाड्न थाले । कर्णाली प्रवर्धनका अभियान्ता न्यौपाने भन्छन्, ‘यसरी कर्णाली परनिर्भरताको बाटोमा धकेलिएको हो ।’ त्यसैले यहाँका धेरै गाउँवस्तीमा कहालीलाग्दा संकट र अभाव देखिन थालेका हुन् । 


यी सवै घटनालाई नजिकबाट नियालेका डोल्पाली युवा नन्दसिंह बुढा यस प्रवृत्तिको कटु आलोचकका रुपमा देखापरे । कर्णालीको स्वाभिमान र मौलिक पद्दती रक्षाका लागि जनस्तरमा नागरिक जागरणका कार्यक्रम संचालन गरिए । कर्णालीलाई भोकमरीबाट जोगाउनु पर्छ भन्ने आवाज घन्किन थाल्यो । हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा सबै ठाउँका युवाहरू मिलेर कर्णाली संकट अन्त्यको लागि ‘कृषि विकास रणनीति’ बनाउनु पर्छ भन्ने आवाजलाई बुलन्द पारे । फलतः कर्णाली कृषि तथा खाद्य सरोकार समुह गठन भयो । डोल्पाबाट यस समुहको नेतृत्व नन्दसिंहले सम्हाले । उनकै संयोजकत्वमा दीगो कृषि प्रणाली वहसको सुरुवात भयो । यसले कृषि र जीविकोपार्जनका नविन आयामलेमात्र कर्णालीका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने कुरालाई स्थापित गरायो । नन्दसिंह यिनै जनमुखी कार्यक्रम बनाएर विविध विषयका बिज्ञहरूका साथ कर्णालीका अधिकांश वस्तीहरूमा पुगे । उनको यस अभियानले कर्णालीबासीलाई जमिन बाँझो नछोड्न र कृषि कर्मतिर फर्कन प्रेरित ग¥यो । विस्तारै स्थानीय बासिन्दाले रैथाने कृषि कर्मको महत्व बुझ्न थाले । 


यस अभियानले जुम्ला, मुगु, कालिकोट लगायतका ठाउँमा मासी धान लगाउने कामलाई प्रोत्साहित ग¥यो । कर्णालीमा फलेको चामल अन्तकोभन्दा निकै गुणस्तरको हुन्छ र यसको मूल्य पनि उच्चकोटीको हुनु पर्छ भन्ने मान्यता स्थापित भयो । कर्णालीमा उत्पादन हुने अन्नपातलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने सम्भावनाहरू देखा परे । अहिले कर्णालीमा मासी धानको उत्पादन बढ्न थालेको छ । हुम्लाका कृषि अभियान्ता नवराज महतराका अनुसार श्रीनगर, दार्म, मैलालगायतका ठाउँका बासिन्दाले यस धानलाई वढावा दिन थालेका छन् । यसको चामल गाउँमै प्रति किलोग्राम दुईसय रुपियाँमा बिक्री हुन थालेको छ । दर्जनौं किसानले यसलाई नगद आम्दानीको स्रोत बनाएका छन् । 

 

कर्णाली अहिले संकट र अभावसँग पौंठेजोरी खेल्दै छ । कुनैबेला यो भूगोल निकै समृद्ध थियो । यहाँका जनता सुखी र खुसी थिए । यी कुरा अतित बनिसकेका छन् । हाल यहाँका विकट वस्तीमा आशाका किरणहरू देखा पर्न थालेका छन् । 


अहिले कर्णालीबासीले ठाउँ अनुसार बाली लगाउन थालेका छन् । नन्दसिंह भन्छन्, ‘परनिर्भरताको बानी परेका किसानलाई जागरुक बनाउन ठूलै कसरथ गर्नु परेको थियो ।’ यही मेसोमा कर्णालीका गाउँवस्ती डुलेका उनले यहाँको भूगोल, सभ्यता र संस्कृतिलाई नजिकैबाट नियाल्ने मौका पाए । कृषिलाई पर्यटनसँगै अघि बढाउने योजना बनाए । यसो गर्दा कृषि उत्पादन मात्र बढेन । यहाँको पर्यटन प्रवर्धनमा सहयोग पुग्यो । उनकै अग्रसरतामा पश्चिमी उच्च पहाडी विकास संगठन नेपालको स्थापना भयो । यसले डोल्पा आसपासका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धनको काम अगाडि बढायो । संसारको ध्यानकेन्द्रित गर्न सक्ने तर संकटोपन्न अवस्थामा पुगेका परम्परागत डोल्पाली संस्कृतिलाई व्यूँताइयो । चाडवाडमात्र यहाँका संस्कृति होइनन् । नन्द भन्छन्, ‘हामीले अन्नबालीमा हाल्नको लागि तयार पार्ने कम्पोस्ट मल बनाउने स्थानीय पद्दती पनि यहाँको कृषि संस्कृति हो ।’ उनको बुझाइमा जुम्लामा धान रोप्दा आयोजना गरिने रोपाईं मेला होस् या अन्नपात थन्काउनेबेला हुम्लामा गरिने क्रियाकपाल पनि कर्णालीका संस्कृति हुन् । यसको प्रचारप्रसारले पनि कर्णालीको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्छ । 


यहाँको माथिल्लो भूगोल पशुपालनकोलागि निकै उपयुक्त छ । यहाँ व्यावसायीक रुपमा याक, चौरी, भेडा, च्याङ्ग्रा पाल्न सकिन्छ । तल्लो क्षेत्र अन्न तथा फलफूल खेतीका लागि निकै उपयुक्त मानिन्छ । नन्दसिंह भन्छन्, ‘स्याउ, आल्मन, हाडे बदाम, ओखरको उत्पादन राम्रो हुन्छ । यसबाट पनि कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ उनका अनुसार हुम्ला, डोल्पा, जुम्ला र मुगुको माथिल्लो क्षेत्र हिमाली जडिबुटीको लागि निकै उपयुक्त ठाउँ हो । सबैभन्दा गुणस्तरको यार्सागुम्वा यहीको भूगोलमा पाइन्छ । वर्षेनी करोडौं मुल्यमा यार्सागुम्वाको कारोबार हुन्छ । तर स्थानीयले यसबाट लाख पनि हात पार्न सक्तैनन् । यो देख्दा उनको मन खिन्न हुन्छ । भन्छन्, ‘कर्णाली जैतुन, निरमसी, कुट्की, जटामसी, चिराइतो, सतुवा र केशर जस्ता बहुमुल्य जडिबुटीको भण्डार पनि हो । उच्चकोटीका जडिबुटी यहाँका भिरपाखामा पाइने भए पनि यसबाट यहाँका जनताले लाभ लिन सकेका छैनन् ।’ न त अझसम्म कर्णालीमा जडिबुटी प्रशोधन केन्द्र नै स्थापना गरिएको छ । व्यवसायीक रुपमा जडिबुटी खेती गर्ने र प्रशोधन केन्द्र स्थापनाका लागि उनी प्रयासरथ छन् । 


कर्णाली मिश्रित संस्कृति र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । डोल्पाको उपल्लो भेगको परम्परालाई मात्र समेटेर फ्रान्सेली चलचित्रकर्मी एरिक भेलीले क्याराभान चलचित्र निर्माण गरे । यसले अन्तर्राष्ट्रिय स्तरमा कर्णालीको प्रचार प¥यो । उपल्लो डोल्पामा हजारौं पर्यटक आए । देशकै पर्यटन विकासमा टेवा पुग्यो । उनी भन्छन्, ‘एरिक भेलीले चलचित्रमा एउटा कथामात्र समेटेका हुन् । यस्ता मनछुने परम्परा र रोचक जीवनशैलीका हजारौं कथाहरू कर्णालीमा गाउँगाउँमा भेटिन्छन् ।’ यहाँको लोभलाग्दो जीवनशैली र परम्परागत कथाको मात्र प्रचार गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको बुझाई छ । शेफोक्सन्डो, रारा ताल जस्ता विश्वप्रख्यात पर्यटकीय गन्तव्य भएर पनि कर्णालीवासीले लाभ लिन सकेका छैनन् । यसको प्रवर्धको लागि उनको टिमले दीर्घकालिन कर्णाली पर्यटन रणनीति बनाएका छन् । 


दुर्लभ बन्यजन्तु र चराचुरुङ्गीहरूको बासस्थान पनि हो, कर्णाली । नन्दसिंहका अनुसार पछिल्ला वर्षहरूमा यहाँ बन्यजनतुको अध्ययन अनुसन्धानको लागि आउनेको संख्या बढ्न थालेको छ । कर्णालीमा हिमालकी रानी अति दुर्लभ बन्यजन्तु हिउँचितुवा, ध्वाँसे चितुवा जंगली याक पनि प्रशस्तै पाइन्छन् । भन्छन्, ‘हुम्ला तथा डोल्पाको उपल्लो भूभाग हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतसम्म जोड्ने गरी हिउँचितुवा करिडोर समेत बनाउन सकिन्छ ।’ हिमाली बन्यजन्तु तथा वातावरण विषयमा रुचीराख्ने संसारभरका अनुसन्धानकर्ताको पहिलो रोजाई नै कर्णालीलाई बनाउन सकिन्छ भन्ने उनीसँग स्पस्ट मार्गचित्र छ । गतहप्ता काठमाडौं आउदा उनले हिउँचितुवा संरक्षण क्षेत्रका संसारभर ख्याती कमाएका बिज्ञ डा. शोम आलेको टिमलाई भेटेका थिए । हिमाली वन्यजन्तु संरक्षण र त्यसले कर्णालीलाई दिने लाभका विषयमा वहस भएको थियो । समृद्ध कर्णालीका सपना देखेका नन्दसिंहले यहाँको भूगोलको बदल्ने खाका तयार पार्न मनाङ, मुस्ताङ, सिक्किमलगायतका थुपै्र ठाउँको भ्रमण गरेर छन् । कृषि र पर्यटनको माध्यमबाट त्यहाँको समाज कसरी समृद्ध भए भन्ने उनलाई राम्रो ज्ञान छ । उनी त्यसरीनै कर्णाली बदल्न चाहन्छन् । 


संकट र अभावसँग पौठेजोरी खेल्दै आएको कर्णालीमा गर्नसक्ने सम्भावनाहरू धेरै छन् । नन्दसिंहले यहाँका अँध्यारा वस्तीहरूमा यस्तै आशाका किरणहरू छर्दैछन् । युवाहरूबीच उनको लोकप्रियता बढ्दो छ । यसैको परिणाम हालै सम्पन्न आम निर्वाचनमा डोल्पा ‘ख’बाट प्रदेशसभा सदस्यमा खसेको कुल सदरमत मध्ये ८२ प्रतिशत उनको पक्षमा थियो । कुनै पनि निर्वाचनमा यत्तिको भारी मत आजसम्म कसैले ल्याएको रेकर्ड छैन । अहिले उनी प्रदेश नम्वर छ मा ‘दीगो कृषि र मौलिक विकास पद्दती’लाई स्थापित गराउन तीव्र बहसको थालनी गर्दैछन् । यस प्रदेशलाई अर्गानिक क्षेत्रमा विकसित गर्दै कृषि र पर्यटनबाट यहाँका जनतालाई समृद्ध बनाउने सपनाबोकेर उनी डोल्पाबाट सुर्खेत झरेका छन् । भन्छन्, ‘साथ पाएँ भने केही गरेर देखाउने छु ।’

प्रतिकृया दिनुहोस

सुनकोशी दोहन, राज्य मौन (फोटोफिचर)

काठमाडौं । विपी राजमार्गको भकुण्डेवेशी देखि खुर्कोट खण्डको नदीमा देखी केही दृश्य जहाँ मेरो मात्र होइन जो कोहीको पनि आँखा पुग्छन । सुनकोशी नदिका

कतारबाट फर्किएका घिमिरे नेपाल आएपछि बेपत्ता

नवलपरासी, १२ चैत । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।