निर्वाचनपछि पनि भारतको नेपाल नीति उस्तै 

जनतापोस्ट

janataPost

वीरेन्द्र केएम 
काठमाडौं ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर पनि भारतले अझै आफ्नो धारणामा कुनै परिवर्तन नगरेको बुझिएको छ । यद्यपि चुनावलगत्तै भारतीय विदेश मन्त्रालयले बधाई तथा शुभकामनासहितको विज्ञप्ती जारी नगरेको होइन । तर त्यो केवल ‘कर्मकाण्ड’ पूरा गरेको स्रोतले जनाएको छ । 
चुनावपछि नयाँ सरकार कस्तो बन्छ र उसले लिने नीति र कार्यक्रम कस्ता हुन्छन् ? त्यसपछि मात्र भारतले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ ।  
भारतले अहिलेसम्म नेपालको नयाँ सविधानलाई स्वागत गरेको छैन भने मधेशकेन्द्रित दलले राखेका मागहरु सम्बोधन हुनुपर्ने भन्दै घुमाइफिराई दबाब दिंदै आइरहेको छ । नयाँ सविधान कार्यान्वयनको प्रमुख खुड्किलोका रुपमा लिइएकोे प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पनि भारत अझै पर्ख र हेरको मनस्थितिमा रहेको बताइएको छ ।   
नोपालका लागि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन(डिसिएम)समेत रहिसकेका र हाल दिल्लीस्थित विदेश मन्त्रालयको नेपाल–भुटान डेक्स इन्चार्ज रहेका पियुषकुमार श्रीवास्तवले नयाँ बन्ने सरकाको नीति र कार्यक्रमपछि मात्र भारतबाट औपचारिक प्रतिक्रिया आउने बताए । 
“एउटा असल छिमेकी भएका नाताले हामी त्यहाँ स्थीर सरकार होस् भन्ने चाहन्छौं । तर त्यो लोकतान्त्रिक, वाम के हुने हो, त्यो हाम्रो सरोकार होइन, त्यो चुन्ने अधिकार त्यहाँका जनतासँग छ,” जनता पोस्टसँगको विशेष कुराकानीमा उनले भने, “अझै पनि त्यहाँ कुनै एउटै दलले बहुमत प्राप्त गरेको छैन, एमाले ठूलो दल भएको छ, तर त्यसको नेतृत्वमा रहेको गठबन्धनले बहुमत प्राप्त गरेको छ । गठबन्धनले बनाउने सरकार र उक्त सरकारको भारत नीति कस्तो हुन्छ ? त्यसपछि मात्र भारतको कुनै प्रतिक्रिया आउनेछ ।”
नेपालमा स्थायित्व आओस्, आन्दोलन–हिंसाजस्ता गतिविधि बन्द होस्, नेपाल विकासको मार्गमा अघि बढोस्, भारतको सधैं यही इच्छा रहेको श्रीवास्तवले बताए । नेपालका प्रधानमन्त्री, विदेशमन्त्री स्वयंले मधेशीका धेरै माग सम्बोधन गर्न बाँकी रहेको स्वीकार गरेकाले त्यही पूरा होस् भन्ने चाहना मात्र आफूहरुको रहेको उनको भनाइ छ ।  
नेपाल र भारतका सत्तासीन राजनीतिक दल र त्यसका नेताहरुबीच आपसी छलफल र सौहार्दपूर्ण वातारवरण नभएका कारण पनि यी दुई देशबीच समय–समयमा असमझदारीका कुरा आउने गरेको उनले बताए । नेपाल र भारतका दलहरुबीच आपसी घुलमेल पनि उत्तिकै जरुरी रहेको बताउँदै  उनले आपसी हितका लागि बाधक बन्ने गरेका साना–तिना असमझदारी  राजनीतिक तहमै हल हुनुपर्नेमा जोड दिए । 
चीनबारे राखिएको जिज्ञासामा भने श्रीवास्तवले केही बोल्न चाहेनन् । “हामीले नेपाल र भारतबारे बोल्ने हो चाइना (चीन) बारे नेपालसँग कुरा गर्नुको कुनै औचित्य छैन ।” उनले अगाडि भने “चाइना र नेपालबीच पनि राम्रो सम्बन्ध रहनुपर्छ, तर हामी आफ्नाबारे मात्र बोल्ने हो ।”
राजपा–फोरम एकताबारे यस्तो छ कसरत
काठमाडौं । राष्ट्रिय दलको मान्यता पाएका दलहरुमध्ये चौथो र पाचौं राजनीतिक दल बन्न सफल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकिकरणको प्रयास थालिएको छ । प्रदेश नम्बर २ मा चुनावी तालमेल गरी निर्वाचनमा भाग लिएर सफलता समेत पाएका राजपा र फोरमबीच सरकार गठन अगावै एकिकरण प्रयास शुरु भएको हो । 
अन्य प्रदेशमा एक्लाएक्लै चुनाव लडेका राजपा र फोरमले प्रदेश नम्बर २ मा मात्र चुनावी तालमेल गरेका थिए । फलस्वरुप अन्य प्रदेशमा खासै जित हासिल गर्न नसकेका राजपा–फोरम प्रदेश २ मा भने बहुमत ल्याउन सफल भएका हुन् । “सँगै मिलेर चुनाव लड्यौं, यस बीचमा दुवै पार्टीका नेता–कार्यकर्ता पनि आपसमा उत्तिकै घुलमेल भएका छन्” जनता पोस्टसँगको विशेष कुरामानीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, “दुवै पार्टी मिल्नुपर्छ भन्ने जनमत पनि आएको छ । तसर्थ हामीले अनौपचारिक रुपमा यसबारे छलफल शुरु गरेका छौं । तर कुनै औपचारिक निश्कर्षमा भने हामी पुगेका छैनौं ।” उनले अगाडि भने “बजारमा हल्ला चलेजस्तो एकिकरण प्रयास नै सुरु भइसकेको भने होइन । यसबारे अहिलेसम्म औपचारिक रुपमा कुनै छलफल भएको छैन ।”
“राजपाको उद्देश्य के हो ? त्यस पार्टीको सिद्धान्त के हो ? यसबारे पनि हामीले पहिला बुझनु जरुरी छ, फेरि हाम्रा साथीहरुबीच पनि छलफल हुन जरुरी छ । यो हत्तारमा हुने सक्ने कुरा होइन, गहिरो छलफल हुन जरुरी छ ।” उनले अगाडि भने, “हो हामी मधेशकेन्द्रीत अवश्य हौं, तर पनि हामीबीच धेरै कुरामा छलफल हुन बाँकी छ, विभिन्न कुरामा समझदारीको जरुरी छ ।”
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पार्टी एकिकरणबारे विभिन्न चर्चा चलेपनि यसबारे राजपा भित्रै औपचारिक कुनै छलफल नभएको बताए । “पत्रपत्रिकामा पनि समाचार आउन थालेका छन्, विभिन्न साथीहरुले पनि चर्चाको बिषय बनाएका छन्,” उनले भने, “तर चुनावपछि हामी समीक्षा बैठकसम्म बस्न सकेका छैनौं, एकिकरणको कुरा झन् यत्ति चाँडै कहाँ हुन्छ र !” उनले अगाडि भने, “विभिन्न अनौपचारिक छलफलहरु चल्दैछन्, हेरौं कुरा कहाँसम्म पुग्ने हो, तपाईहरुलाई जानकारी पाइहाल्नुहुन्छ ।” 
अध्यक्ष मण्डलका अर्का नेता शरतसिंह भण्डारीले अब चाँडै बस्ने समीक्षा बैठकमा यो पनि एउटा बिषय बन्ने बताए । राजपा–फोरमका सबै कार्यकर्ताले दुई पार्टी एक भएको हेर्न चाहेको र जनमत पनि सोही किसिमको आएको भण्डारीको भनाइ छ ।  “तत्काल अहिलेको जस्तै अध्यक्ष मण्डल बनाएर अघि बढ्न सकिन्छ,” उनले भने, “किनकि अब आगामी दिनमा प्रदेश नम्बर १ र ५ मा कसरी मजबुुत बन्ने लगायतका सवालहरु छन्, हामीले उक्त प्रदेशहरुमा पनि मिलेर चुनाव लडेको भए हामी अझै सफलता पाउने थियौं, यी कुराहरलाई पनि ख्याल गदै राजपा र फोरमबीच एकता जरुरी छ ।” 
पदीय कुराको कुनै बिवाद नरहेको बताउँदै अझ सफलता पाउन र देशलाई वैकल्पिक रजनीतिक शक्तिको स्वरुप दिन पनि राजपा र फोरमबीच एकता आवश्यक भएको उनले बताए । भण्डारी भन्छन्, “अर्को चुनावमा राजपा फोरम २ ओटा दल रहनेछैन ।”
 

प्रतिकृया दिनुहोस

मौसम खराबीले दुर्घटना

कौशिला कुँवर काठमाडौं। २०७४ जेठ १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्लाका लागि उडेको गोमा एयर (समिट एयर) को कार्गाे उडान मौसम