आकर्षणको केन्द्र बन्दै छडिभेल झरना 

जनतापोस्ट

janataPost

भुवन बहादुर सिंह,बझाङ । थलारा गांउपालिकाको कोइरालकोटको छडीभेल झरना पछिल्लो समयमा आन्तरिक पर्यटकहरूको आर्कषणको केन्द्र बन्न थालेको छ । झरनाको मनोरम दृष्य र वरिपरिको एकान्त वातावरणको आनन्द लिनका लागि जिल्लाका विभिन्न ठाउँका मानिसहरू त्यहाँ पुग्न थालेका छन् । समुन्द्री सतहदेखि करिब २५ सय मिटरको उचाइमा रहेको यो झरनाको लम्बाइ झण्डै ३ सय मिटरभन्दा बढी छ । चारैतिर हरियो जंगलमा मौसम अनुसारका फुल्ने फूल र झरना रहेको स्थानबाट देखिने मनोरम हिमाली दृष्यले यहाँ आन्तरिक पर्यटकको आर्कषण बढाएको हो । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको झरना भएको ठाउँमा देखिने मृग, घोरल, बंदेल जस्ता विभिन्न जंगली जनावर र कालिज, तित्रा लगायतका चराचुरुङरगी सजिलै देख्न सकिने भएका कारण पनि यस ठाउँमा मानिसहरू घुम्न आउने गरेको स्थानीय दिपक जोशीले बताए । झरना नजीकै ठूल ठूला पहरामा रहेकाको भीर मौरीको मह शिकार गर्न पनि धेरै मान्छे यहाँ पुग्ने गरेको उनले बताए । 

 

 

‘पहिले पहिले गाउँपालिकाभित्रका मानिसहरू मात्र यहाँ घुम्न आउने गर्दथे,’ जोशीले भने ‘पछिल्लो समयमा अन्य ठाउँका मानिसहरू पनि वनभोज खान र घुम्नका लागि यहाँ पुग्न थालेका छन्,’ गाउँपालिका यातायातको सञ्जालमा जोडिन थालेपछि यहाँ आउनेको संख्यामा पनि वृद्धी भएको उनको भनाइ छ । ‘मनै लोभ्याउने ठाउँ रहेछ,’ छडिभेल झरना घुमेर आएका मालुमेलाका ढेपबहादुर विस्टले भने, ‘झरनाको कलकल, चराहरूको चिरविर आवाज र त्यहाँबाट देखिने सुन्दर हिमालको दृष्य निकै नै रमाइलो र अदभूत रहेछ,’ प्रचार प्रसारको अभावमा प्रकृतिको गर्भमै रहेको यस्तो ठाउँको व्यवस्थापन र प्रवद्र्धन गर्न सके बर्सेनी हजारौं पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । 

 

 

उसो त यो झरना थलारा क्षेत्रको धार्मिक आस्थाको केन्द्र पनि हो । झरनाको नजिकै रहेको शिव मन्दिर यस गाउँपालिकाका स्थानीय बासिन्दाको पवित्र तिर्थस्थल हो । यस झरनामा स्नान गरी शिव मन्दिरमा पूजाआजा गरेमा सम्पूर्ण पाप नाश भएर इच्छित वर प्राप्त हुने विश्वासका कारण यहाँका सयौं मानिसहरू छडिभेल पुग्ने गर्दछन् । बझाङ सदरमुकामबाट गाडी र पैदल यात्रा गरी करिब ३ घण्टामा पुग्न सकिने यो झरनाको बारेमा अनौठो किंवदन्ती पनि प्रचलनमा छ । किवंदन्तीअनुसार गाउँमा बिहे व्रतबन्ध, भोज जस्ता कार्यक्रम हुँदा स्थानीयले यहाँ आएर पूजा गर्ने र त्यसको भोलीपल्ट झरनाको पुछारमा रहेको तालमा खाना पकाउने ठूला ठूला भांडाहरू आउने गर्दथे । जल देवताले दिएका भाँडा प्रयोग भैसके पछि सफा गरेर त्यही ठाउँमा राख्ने र पछि आफै गायब हुने गर्दथे । एक दिन बाजुराबाट भेडा चराउन आएका भोटे जातिका मानिसले जलदेवतालाई त्यसरी नै भाँडा मागेको तर प्रयोग गरिसकेपछि जुठै भाँडा छोडेर गएका कारण देउता रिसाएर भाँडा दिन छोडेको कथा प्रचलित रहेको स्थानिय दिपक जोशीले बताए । 

 

 

धार्मिक आस्थाका हिसाबले प्रख्यात यो ठाउँ प्राकृतिक र भौगोलिक रुपमा पनि सुन्दर भएकोले यसलाई जिल्लाकै मुख्य पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि गाउँपालिकाले पनि काम सुरु गरिसकेको गाउँपालिका प्रमुख भुवनेश्वर उपाध्यायले बताए । उनले झरना रहेको स्थल नजिकै सडक यातायातको पहुँच पुर्याउने र यसलाई पिकनिक स्पटको रुपमा विकास गर्नका लागि गाउँपालिकाले कार्यथालनी गरिसकेको बताए । 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको