प्रतिभा पलायन : रोक्ने कसरी ?

जनतापोस्ट

janataPost
लेखक : मीनराज ढकाल

प्रतिभा पलायनको कुरो बेलाबेलामा चर्चामा आउने गर्छ । विदेशमा गएर अनुशन्धान कार्यमा लागेका नेपाली वैज्ञानिकहरूलाई आकर्षित गरेर नेपाल फर्काउने विज्ञान तथा प्रविधि प्रज्ञा—प्रतिष्ठानको प्रयास प्रभावकारी देखिएन । अन्य देशहरूमा पनि विदेशिएका वैज्ञानिक प्रतिभाहरूलाई स्वदेश फर्काउन गरिएका प्रयासहरूले कमै सफलता हासिल गरेका छन् । प्रतिभा पलायनलाई निरूत्साहित गर्न के गर्न सकिन्छ भनेर चर्चा गर्नु आवश्यक देखिएको छ ।


एउटा देशका प्रतिभा अर्को देशमा जाने बाह्य पलायन मात्र होइन एउटै देशभित्र आन्तरिक प्रतिभा पलायन पनि हुने गर्दछ । नेपालकै दुरदराजका गाउँमा पुग्यो भने त्यहाँका प्रतिष्ठित सक्रिय मानिसहरूको गुनासो सुन्न सकिन्छ ः गाउँका पढालेखा युवाहरू शहर पस्छन्, उतै बस्छन् अनि गाउँको विकास कसले गर्ने । कहिले काहिँ सरकारले शहरी शिक्षित व्यक्तिहरूलाई थोरै समयकालागि भएपनि गाउँ गएर काम गर्न प्रेरित गर्ने योजना बनाउने गरेको पाइन्छ । यस्ता योजनाहरू प्रायः निष्प्रभावी देखिन्छन् । 


गाउँमा जन्मे हुर्केका व्यक्ति शहरका विश्वविद्यालयमा नामी प्राध्ययपक हुनु् वा वरिष्ठ वकिल वा अन्य कुनै विषयका ख्याती प्राप्त विषेशज्ञका रूपमा स्थापित हुनु स्वाभाविक नै लाग्दछ । विचारणिय प्रश्न के हो भने यी व्यक्तिहरू गाउँमै रहेका भए वा गाउँ फर्के भने के हुन्थ्यो ? यिनको आफ्नो अवस्था कस्तो रहन्थ्यो ? गाउँको उन्नती भएर कहाँ पुग्थ्यो ? पचास वर्षअघि प्राथमिक विद्यालय समेत नभएका गाउँमा अहिले भव्य भवन सहितको कलेज, खानेपानीका धाराहरू, बुल्डोजरले सम्याउदै गरेका बाटाहरू भेटिन सक्छन् । यी कुराहरू गाउँमा जो रहे तिनकै प्रयासबाट भएका देखिन्छन् ।


भारतका पूर्ब राष्ट्रपति अब्दुल कलामले त्यहाँको वैज्ञानिक प्रतिभा पलायनको समस्याको चर्चा गरेका छन् । पश्चिमी मुलुकमा गएर कामगर्ने भारतीय वैज्ञानिकहरूले विज्ञानका क्षेत्रमा उत्कृष्ट योगदान गरेका र  कतिपयले बहुतै उच्चस्तरका उपलब्धि हासिल गरेका छन् । औसतमा भारतमा रहेर काम गर्नेले त्यही स्तरको उपलब्धि हासिल गर्न नसकेको देखिन्छ । कलाम प्रश्न गर्छन्, किन ? अमेरिकामा बसेर नोबेल पुरस्कार पाउने भारतीय मूलको वैज्ञानिकले आफ्नै मुलुकमा रहेर काम गरेको भए त्यही उपलब्धि हासिल गथ्र्यो ? गथ्र्यो पनि कि ? तर बढी सम्भावना केछ भने उसको अवस्था र योगदान त्यस्तै रहन्थ्यो जस्तो अहिले आफ्नो मुलुकमा रहेकाहरूको छ । 


भौतिक सुविधाको मात्र कुरा गर्ने हो भने भारतमा पनि केही उच्च स्तरका प्रयोगशालाहरू छन् । अमेरिकामा काम गर्नेले जुन उपकरण र जुन कम्पनीका रसायनहरूको प्रयोग गर्यो ती उपकरण र रसायन भारतमा पनि उपलब्ध छन् । अमेरिकामा बसेर जुन पुस्तक र जर्नलहरूको अध्ययन गरिन्छ भारतमा पनि तिनै कुरा पढिन्छ । फरक के ले ल्यायो होला ? कलामको भनाईमा यो फरक ल्याउने कारक तत्व परिवेश हो । अमेरिकामा काम गर्न जुन परिवेश उपलब्ध भयो वा छ भारतमा त्यो परिवेश नहुन सक्तछ । कलामको यो विश्लेषण नेपालमा पनि लागु हुन सक्छ । यहाँ रहेकाले राम्रो गर्न सकिरहेका छैनन् भने बाधक तत्व परिवेशनै हुन सक्छ । परिवेशभित्र ऊसँगै काम गर्ने उसका साथीहरू पर्दछन् । उसले काम गर्ने संस्थाको प्रमुख पनि उसको परिवेश हो । उसको घर परिवार, वरिपरिको समाज, उसको देशको राजनीति जस्ता कुराहरू उसको परिवेशका अभिन्न अंग हुन् । परिवेशका यी सबै कुराले उसको कामलाई प्रभावित गर्दछन् र उसले हासिल गर्ने उपलब्धि वा योगदानमा फरक पार्दछन् ।


आर्थिक प्रलोभन र भावनात्मक संवेदनाको मिश्रित प्रयोगले विदेशमा पलायन भएका प्रतिभा मध्ये केहीलाई स्वदेश फर्र्काएर काममा लगाउन सकिन्छ । तर यसले वान्छित प्रतिफल दिन्छ नै भन्न सकिन्न । जो फर्कन्छ उताको परिवेश उतै छाडेर एक्लै फर्कन्छ, उसले यहाँ जो छन् तिनका साथ र परिवेशमा काम गर्नु पर्ने हुन्छ । यसो भनेर प्रतिभा पलायनको समस्यालाई वेवास्ता गर्न भने मिल्दैन । प्रतिभा पलायनलाई निरुत्साहित गर्न प्रत्यक्ष प्रावधानहरू भन्दा परोक्ष उपायहरू बढी प्रभावकारी हुने देखिन्छन् । एउटा भनाई छ, उनीहरूमाथि ध्यान केन्द्रित गर जो तिमीसित छन् । प्रज्ञा प्रतिष्ठान होस् या विश्वविद्यालयहरू अथवा बिभिन्न अनुशन्धान मूलक संस्थाहरू हुन् सबैमा विज्ञान पढेका र अनुशन्धान सम्बन्धी केही नकेही तालिम प्राप्त व्यक्तिहरू कार्यरत रहन्छन् । यिनीहरूमाथि नै ध्यानदिने हो र काम लिने पनि यिनीहरूबाटै हो । यसोभनि रहँदा स्वाभाविक रूपले एउटा प्रश्न उठ्दछ । 


उच्चस्तरका प्रतिभाहरू त सबै विदेसिई सके । यहाँ जो छन् ती मध्यमस्तरका वा धेरै त त्यसभन्दा पनि कमसल छन् । तिनबाट कसरी उच्चस्तरको उपलब्धी मूलक योगदानको अपेक्षा गर्ने ? परन्तु हामीसँग त यिनीहरू नै छन् । मध्यम वा कमसल जनशक्तिले आफैंले उच्च स्तरिय उत्पादन दिन त नसक्लान् तर सन्तुष्ट रहेर काममा जुटे भने तिनले आउने पुस्ताका लागि उपयुक्त परिवेशको निर्माण गरिदिन सक्छन् । विदेशिएकालाई सानो पोको तयार पारेर फर्काउने कोसिसले भन्दा यहाँ रहेकाहरूलाई हेरेर निर्माण गरिएका नीतिले उपयुक्त परिवेशको निर्माणमा सहयोग पु¥याउने देखिन्छ । यस्तो नीति बनाउँदा मध्यमस्तरका जागिरेहरूको भीडमा चेपिएका उच्च क्षमताका प्रतिभाहरूको संरक्षणमा पनि ध्यान दिनु पर्ने हुन्छ । यसो गर्न सके एकदुई पुस्ता बित्ता नबित्ता प्रतिभा पलायनप्रति चिन्तित हुनु पर्ने अवस्था हट्न सक्छ ।


एउटा देशको दक्ष वा अदक्ष जनशक्ति अर्को देशमा काम गर्दाका सबै अवस्था चिन्ता जनक हुँदैनन् । भारतमा आइआइटी, आइआइएम् जस्ता नामूद शिक्षण सस्थाहरू छन् । यिनले उत्पादन गरेका जनशक्तिले विभिन्न मुलुकका ठूलठूला कम्पनीहरूमा सजिलै काम पाइरहेको अवस्था देखिन्छ । आफूले अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्ने उच्च गुणस्तरका जनशक्ति उत्पादन गर्न सकेकोमा यी संस्थाहरू गर्व गर्दछन् । यस्तो अवस्थामा प्रतिभा पलायनको खासै चासो राखिंदैन । यसको कारण के हो भने पलायन भएर गएको वा आवधिक रोजगारीमा गएको जनशक्तिले बाहिर गएर जस्तो काम गरिरहेका हुन्छन् । त्यतिको काम मूल देशमा बस्नेहरूले पनि गरिनै रहेका हुन्छन् । नेपालका विश्वविद्यालयहरूले पनि अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न सके त्यसमा गर्वकै अनुभव गर्न सक्छन् । प्रतिभा पलायन त्यस बेलामा गम्भीर चासोको विषय बन्छ जब अर्को देशमा गएर काम गर्नेले त्यस्तो उपलब्धी हासिल गर्छ जुन मूल देशमा बसेकाले गर्न सकेका हुँदैनन् । यसबेला मूल देशमा खास किसिमको दक्षताको अभाव खड्किन थालेको हुन्छ । 


शाब्दिक अर्थमा पलायनले नफर्कने गरी गएको भन्ने जनाउँछ भने वैदेशिक रोजगारमा गएको जनशक्ति रोजगारीको अवधि सकिएपछि फर्कन्छ भन्ने बुझिन्छ । वैदेशिक रोजगारीमा जाने अदक्ष र अर्धदक्ष जनशक्तिले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रलाई थेगेको छ । अहिलेको खाडी मुलुकतिरको लहरभन्दा धेरै पहिले देखिनै नेपालीहरूले भारत र बेलायती सेनामा काम गर्दै आएका हुन् । 


वैदेशिक रोजगारीलाई सरकारी तवरबाटै प्रोत्साहित गरिएको छ र यसकालागि अनेकौं कम्पनीहरू खुलेका छन् । यतिखेर नेपालमै रोजगारीका अवसरहरू बढाएर वैदेशिक रोजगारीको लहरलाई रोक्नु वा कम गर्नुपर्छ भन्ने कुरा उठिरहेका छन् । जुन जनशक्ति विदेशिएको हुन्छ आफ्नो मुलुकमा त्यस्तो जनशक्तिको अभाव नहुन्जेल विदेश पलायन समेतलाई समस्या मूलक ठानिदैन ।  आफ्नै मुलुकमा कृषिमा लाग्ने जनशक्तिको अभावले खेतबारी बाँझिन थालेपछि वैदेशिक रोजगारीलाई समेत निरुत्साहित गर्ने कुरा उठेका हुन् । प्रतिभापलायन होस् वा वैदेशिक रोजगारी तद्जन्य समस्याहरूबाट बच्ने राम्रो उपाय भनेको मुलुकभित्रै अवसरहरूको सिर्जना र कामका लागि उपयुक्त परिवेशको निर्माण हो भन्ने देखिन्छ । विज्ञान र प्रविधिका क्षेत्रमा पनि यो कुरो लागु हुन्छ । प्रतिभाशाली सबै विदेशिए, यहाँ रहेका सबै कमसल छन् भन्न सकिंदैन । लक्ष्मी प्रसाद देवकोटाले आफ्नो एउटा निबन्धमा हाम्रा देशका सेक्सपियरहरू हलो जोत्तै होलान् भन्ने भाव व्यक्त गरेका थिए । आइन्स्टाइन बन्न सक्ने खुबी भएको व्यक्ति कतै पान पसल थापेर बसेको हुन सक्छ । यसरी हेर्दा मुलुकभित्रका प्रतिभाहरूको संरक्षण र संबर्धन प्राथमिक महत्वको बिषय बन्न जान्छ । विदेशिएका एकाध प्रतिभालाई फर्काउने कार्यक्रम बनाउनुभन्दा मुलुकभित्रका प्रतिभाहरूको हालत बुझ्नु र तिनका लागि कामको उपयुक्त परिवेशको निर्माण गरिदिनु राज्यको कर्तव्य हुन आउँछ । प्रतिभा पलायनलाई निरुत्साहित गर्ने यो नै राम्रो उपाय हो जस्तो देखिन्छ ।

प्रतिकृया दिनुहोस

...नत्र कसले लिने क्रिकेट हत्याको दोष ?

नेपाल विश्वमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मात्र १६ मुलुक मध्ये एक बनेको छ । गर्वको कुरो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले

सरस्वतीको अधिकार भर्सेज गैंडाको अधिकार

कुरो मार्च ४, २०१८ को । स्थान, मार्टिन चौतारीको हल । मार्च महिनाभरी नै महिला विषयक छलफल चलाउने क्रममा मार्टिन चौतारीकै पहलमा चलिरहेको छलफलमा, इतिहासकार

किन दुख्दैन कालापानी–लिपुलेक ?

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएको झन्डै तीन महिनापछि नयाँ सरकारले नेतृत्व लिएसंगै कसैलाई संसद भवन छिर्ने हतारो छ भने कोही कतै मन्त्री पो