आन्तरिक उडान नहुँदा समस्या

जनतापोस्ट

janataPost

हरिकृष्ण कुमाई, जुम्ला । संघीय राजधानी काठमाडौंबाट सीधा हवाई उडान नभएको कर्णाली प्रदेशमा आन्तरिक उडानसमेत छैन । जसले आवातजावतदेखि व्यापारमा समेत समस्या उत्पन्न भइरहेको छ । काठमाडौंबाट सीधा उडान सम्पर्क नभएको एक मात्रै कर्णाली प्रदेश हो । पाँच वर्षदेखि काठमाडौं– सुर्खेतको सीधा उडान रोकिएको हो । नेपाल वायुसेवा निगमले जहाजको अभाव देखाउँदै उडान बन्द गरेपछि निजी क्षेत्रका एयरलाइन्सले धावनमार्ग कालोपत्रे गरेपछि उडान भर्ने बताएका थिए । यहीअनुसार स्थानीयको पहलमा हजार मिटर लामो धावनमार्ग कालोपत्रे गरिएको गरियो तर, बुद्ध र यती एयरलाइन्सले धावनमार्ग विस्तार गरे मात्रै उडान गर्ने बताए । त्यसपछि धावनमार्ग दुई सय ५० मिटर थप विस्तार गरियो । सेवाग्राही नपाएको भन्दै बुद्ध एयरले केही महिनामै उडान बन्द गरेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका संयोजक पदम शाहीले बताए ।


शाहीका अनुसार करिब पाँच वर्षअघि बुद्ध एयरले नौ हजार दुई सय भाडादर तय गरेर उडान सुरु गरेको थियो । जब कि त्यतिवेला नेपालगन्जबाट काठमाडौंको चार हजार टिकट थियो । ‘महँगो भाडाका कारण ग्राहक कम भएँ,’ शाहीले भने । त्यसपछि सुर्खेत–काठमाडौं उडान बन्द भयो ।


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अहिलेको विमानस्थल अवतरणका लागि उपयोगी नभएको र धावनमार्ग पनि कम भएको भन्दै नयाँ स्थानमा विमानस्थल बनाउन खोजी भइरहेको छ । भौगोलिक बनोटका कारण ठूला जहाज अवतरण गर्न समस्या हुने व्यवसायीको भनाइ उल्लेख गर्दै काठमाडौंबाट वीरेन्द्रनगरमा उडान बन्द गरेको विमानस्थलका प्रबन्धक विनोद पन्तले बताए । पहिले देखिनै केन्द्र बाट सौतेलो व्यवहार खेप्दै आएको कर्णाली अहिले पनि त्यही अवस्थामा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुर्खेतको रामघाट मदानेचौरमा विमानस्थल बनाउनेबारे सम्भाव्यता अध्ययन गरेको थियो । तर, उक्त स्थानमा विमानस्थल निर्माण गर्दा लागत अधिक हुने पाएको छ । त्यस्तै सुर्खेतको लाटीकोइली क्षेत्रमा पनि विमानस्थल बनाउन सकिनेबारे छलफल सुरु भएको छ ।


कर्णाली प्रदेशमा आन्तरिक हवाई उडान पनि छैनन् । उडान अभावले हिमाली जिल्ला डोल्पा, जुम्ला, मुगु, कालिकोट र हुम्लाका सर्वसाधारण, जनप्रतिनिधि र व्यापारी मर्कामा परेका छन् । आफ्नै प्रदेशको राजधानी सुर्खेत पुग्न पनि प्रदेश ५ को राजधानी नेपालगन्ज पुगेर फर्किनुपर्ने बाध्यता छ ।


कर्णाली क्षेत्रका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटका बासिन्दाको प्रायः सुर्खेतमै घरजमिन छ । वीरेन्द्रनगरमा घर भएका चन्दननाथ नगरपालिकाका कृष्णभक्त चौलगाई प्रदेश ५ को नेपालगन्ज पुगेर वीरेन्द्रनगर आउनुपर्ने समस्या रहेको बताए । ‘गाडीबाट जाँदा काम भेटाउन पर्ने, हवाई यात्राबाट जान नेपालगन्ज घुमेर फर्केर आउनुपर्ने भएकाले खर्च व्यवस्थापनमा पनि गाह्रो भइरहेको छ,’ चौलगाईले बताए । पहिले सुर्खेतबाट जुम्ला हवाई यात्राका लागि पाँच हजार र एकतर्फी तीन हजार दुई सय रुपैयाँ भाडा थियो । जुम्ला–सुर्खेत उडान बन्द भएपछि नेपालगन्ज पुग्नुपर्ने  बाध्यता रहेको छ ।  


पाँच वर्षअघि काठमाडौंबाट वीरेन्द्रनगर नियमित उडान हुने गरेको थियो । नेपाल वायुसेवा निगमले जहाजको अभाव भन्दै उडान बन्द गरेपछि सुर्खेत सम्र्पकविहीन भयो । विमानस्थल विस्तार गरे उडान गर्ने निजी कम्पनीले भनेका थिए । त्यही आधारमा हजार मिटर धावनमार्ग भएको विमानस्थललाई एक हजार दुई सय ५० मिटरको बनाइयो । तर, उनीहरूले पनि नियमित उडान गरेनन् । कर्णाली प्रदेश काठमाडौंबाट सीधा हवाई उडानमा छैन ।
कर्णाली प्रदेश बासीका आन्तरिक तथा बाहिय उडान नहुदाँ चार वटा समस्या सिर्जना भएकोे छ । पहिलो मारमा कर्णाली प्रदेशका विरामीहरु नै परेका छन् । वीरेन्द्रनगरबाट काठमाडौं सीधा उडान नहुँदा रिफर गरिएका बिरामी काठमाडौं लैजान समस्या हुने गरेको छ । पहिले नेपालगन्ज र त्यसपछि काठमाडौं जानुपर्ने बाध्यता छ । जसले समयसँगै खर्च पनि बढ्छ । 


दोस्रो समस्या कर्णाली प्रदेशमा आउने आन्तरिक तथा बाहिय पर्यटकलाई असहज भएको छ । से–फोक्सुुन्डो, रारादेखि हिल्सा हुँदै मानसरोवर जाने पर्यटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउन पाउँदैनन् । नेपालगन्जबाटै आवतजावत गर्छन् । हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय तथा नेपाली पर्यटक नेपालगन्जबाट सीधै सिमिकोटमा पुग्ने गरेका छन् । जसले गर्दा कर्णाली प्रदेशले राजस्व पनि गुमाउनुपरेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश संयोजक पदम शाहीको भनाइ छ । शाहीका अनुसार कर्णाली प्रदेश नै काठमाडौंबाट सीधा हवाई सम्पर्कमा नहुँदा पर्यटकीय आवगमनमा समस्या छ । जसले गर्दा पर्यटकको संख्या बढ्न सकेको छैन ।


तेस्रो मारमा व्यापार व्यवसायमा असर परेको छ । कर्णाली प्रदेशमा उत्पादित कृषि उपजलाई बाहिर पठाउन तथा आवश्यक अन्य सामग्री आयात गर्न पनि समस्या भइरहेको छ । एक अर्बभन्दा बढीको व्यापार हुने यार्सागुम्बा पनि नियमित उडानको समस्याका कारण अवैध बाटोबाट चीनतिर निकासी हुने गरेको छ । साथै, हुम्ला र जुम्लामा उत्पादन हुने सिमी, कालो धान, फापरदेखि आलु ढुवानी महँगो हुने गरेको छ । चारमा कर्णालीका जनप्रतिनिधि मर्कामा परेका छन् । कर्णाली प्रदेशभित्र आन्तरिक उडान नहुदा यहाँका नागरिक पीडित त थिए नै, कर्णाली क्षेत्रका जनप्रतिनिधि पनि समस्यामा पर्ने गरेका छन् । प्रदेशस्तरमा भइरहने विभिन्न बैठकमा उपस्थिति हुन आउँदा गाडीको यात्रा भरपर्दो नहुने भएकाले हवाई यात्रा रोज्नुपर्छ । त्यो झन् झन्झटिलो र धेरै समय खर्च हुने गरेको तिला गाउँपालिका उपप्रमुख विष्णु बुढाले बताइन् । ‘आन्तरिक उडान नहुँदा अधिकांश बैठकहरूमा कर्णालीका जनप्रतिनिधि उपस्थिति पनि हुन सक्ने गरेका छैनन्’ उनले भनिन् ।


प्रदेशस्तरका बैठकमा अनिवार्य आउन पत्रचार गरे पनि गाडीको यात्रा भरपर्दो नहुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘हवाईयात्रा गर्दा विनाकाममा प्रदेश ५ को नेपालगन्ज आउजाउ गुर्नपर्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको