वन्यजन्तु तस्कर पक्रन २ सय ४७ अप्रेशन

janataPost

काठमाडौं, १७ माघ । टर्कीको इस्तानाबुलबाट आएको एक कन्टेनर अफ्रिकी बाँदरहरू, रिङनेट फेजन चरा, सुनौलो रंगका र पातलो घाँटी भएका तित्रा, सुँगाहरू र परेवाले भरिएको थियो । 


ती प्राणीहरू भारत पास गर्न नेपाललाई ट्रान्जिट बनाएर ल्याइका थिए । वन्यजन्तुका अन्तर्राष्ट्रिय तस्करले सोचेका थिए– नेपालबाट सहजै ती प्राणी भारत पास गर्न सकिन्छ । तर उनीहरूले थाहा पाएनन् वन्यजन्तु तस्करी गर्ने गिरोहीको सुक्ष्म अध्ययन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) । 
ती प्राणी बाँसबारी सल्लाघारीस्थित सञ्जिव भारीको घरमा नभित्रिउन्जेल सीआईबीले पिछा गर्यो । काठमाडौंका भारीसँगै भारत पटनाका मोहम्मद उस्मानलाई जंगली प्राणीले भरिएको कन्टेनर सीआईबीले नियन्त्रणमा लियो । उनीहरूकै सुराकमा पक्राउ परे पानकिस्तानका अन्तर्राष्ट्रिय वन्यजन्तु तस्कर जावेद अस्लाम खान, भन्सार एजेन्ट कुमार तिवारी, भारतको लखनउका चांदबाबु मोहम्मद सरिफ, भारत बिहारका मोहम्म फइम । अहिले यी सबै पुपक्र्षका लागि थुनामा छन् । यो घटना थियो गत ३१ असोजको ।


यसैगरी सुराक र लामो अनु्सन्धानका आधारमा सीआईबीले धमाधम वन्यजन्तु तस्करका आसेपासेलाई पक्राउ गर्दै आएको छ । सीआईबीले पुस महिनासम्म ५ सय ६२ वन्यजन्तु तस्कर पक्राउ गरेको छ । सीआईबीले अहिलेसम्म ५ सय ६२ वन्यजन्तु तस्कर पक्राउ गरेको हो । सीआईबीले गएको सात वर्षको अवधिमा नेपालका विभिन्न भागबाट बाघ, गैंडा, चितुवा, रेडपाण्डा, कस्तूरी, चीरू, कछुवा, सालक, सुनगोहोरोलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको चोरी शिकारी गर्ने, अखेटोपहारको कारोबार गर्ने तथा ओसारपसार गर्ने ५ सय ६२ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ । जसमा ५३४ जना पुरूष र २८ जना महिला छन् ।  


वन्यजन्तुको चोरी शिकारी तथा ओसारपसार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ र साइटिस महासन्धी अनुसार कारबाही गरिँदै आएको छ । यसरी गैरकानूनी रूपले वन्यजन्तुको चोरी शिकारी गर्ने, अखेटोपहार राख्ने, खरिद बिक्री गर्ने तथा ओसारपसार गर्नेलाई ५ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुने कानूनी व्यवस्था छ । तरपनि वन्यजन्तु चोरी शिकारी तथा ओसारपसारमा भने कमी हुन सकेको छैन ।


वर्षैपिच्छे बढ्दैछ तस्करी 
सीआईबीले वन्यजन्तु चोरी शिकारी रोक्न एउटा छुट्टै युनिट बनाएको छ । डिएसपीको कमाण्डमा रहेको उक्त पिलरले वन्यजन्तु तस्करका कुख्यात डनदेखि तिनका आसेपासे समेत पक्राउ गरेको छ । कुख्यात गैंडा तस्कर राजकुमार प्रजा, वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करका एजेन्ट शेर लामा तथा बाघ तस्कर वञ्जारा समूहका नाइके र तिनका आसेपासे पक्राउ परिसकेका छन् । वर्षेनी चोरी शिकारविरूद्ध अप्रेशन बढाएर कारबाही थाले पनि प्रहरीको तथ्यांकअनुसार वन्यजन्तु चोरी शिकारीको संख्या भने बढ्दै गएको देखिन्छ । 


आर्थिक वर्ष २०६७/६८ मा ४० जना वन्यजन्तु तस्कर पक्राउ परेका थिए अहिले त्यो संख्या बढेर अहिले ११६ जनासम्म पुगेको छ । आर्थिक वर्ष २०६७/६८ मा १० वटा अप्रेशन गरेको सीआईबीले ४० जनालाई पक्राउ गरेको थियो । जसमा ३५ जना पुरूष र ५ जना महिला थिए । उनीहरूबाट प्रहरीले ३ वटा गँैडाको खाग, १२ वटा खूर, बाघको छाला १ वटा र हड्डी २३ किलो ८ सय ग्राम र चितुवाको छाला २ वटा बरामद गरेको थियो ।


आर्थिक वर्ष २०६८/६९ मा यो संख्या बढेर ५९ पुग्यो । यस वर्ष भएका २२ वटा अप्रेशनमा ५६ पुरूष र ३ महिला गरी ५९ तस्कर प्रहरीको फन्दामा परे । उनीहरूको साथबाट गैँडाको खाग २ वटा, चितुवाको छाला ७ वटा, हड्डी साढे ४ किलो, रेडपाण्डाको छाला २ वटा, हिमचिुतवाको छाला १ वटा, भालुको पित्त र कस्तूरीको बिना ४÷४ वटा, मलसाप्रो २ वटा र कालिज १२ वटा मरामद भएको थियो । 


आर्थिक वर्ष २०६९/७० मा ३२ वटा अप्रेशन भएकोमा २ महिलासहित ६० जना पक्राउ परे । गैंडाको ३ वटा खाग सहित १ वटा खुर, बाघको एउटा छाला र १० किलो हड्डी, चितुवाको छाला ६ वटा, रेडपाण्डाको छाला ३ वटा र चीरूको रौं ७५ बोरालगायत अन्य थुप्रै वन्यजन्तुका हाड छाला बरामद भएका थिए ।
आर्थिक वर्ष २०७०/७१ मा २ महिलासहित ६३ जना वन्यजन्तु तस्कर पक्राउ परेका थिए । यस आर्थिक वर्षमा सीआईबीले रेडपाण्डाको छाला ११ वटा, ओंतको छाला २ वटा, सालकको खपटा १३ वटा, चितुवाको छाला ३ वटा बरामद गरेको थियो । सीआईबीले ठूलो मात्रामा पंक्षीहरू पनि बरामद गरेको थियो ।


१५२ वटा परेवा, १०८ वटा खरायो, ९५ वटा सुगा, फिन्च ८४ वटा, मुनिया ८३ वटा, धानचरा ७० वटा, फेन्सी परेवा २८ वटा, कालिज १४ वटालगायत अन्य पंक्षीसहित ८०६ वटा पंक्षी बरामद भएका थिए । आर्थिक वर्ष २०७१/७२ मा वन्यजन्तु तस्करीमा पक्राउ पर्नेको संख्या ८५ पुग्यो । जसमा ६ जना महिला समेत पक्राउ परेका । यस आर्थिक वर्षमा चितुवाको छाला मात्रै १३ वटा र हड्डी १०२ किलो बरामद भयो । गैंडाको खाग २ वटा, छाला १ वटा र दाह्रा ४ वटा पनि बरामद भएको थियो ।


यस आर्थिक वर्षमा सीआईबीले ठूलो सफलता हात पा¥यो । २५ माघ २०७१ मा कुख्यात गैँडा तस्कर राजकुमार प्रजा पक्राउ परे । यसलाई सीआईबीले ठूलो सफलताको रूपमा लिएको छ । प्रजा पक्राउ परेसँगै गैंडा तस्करीमा धरै कमी आएको सीआईबीको वन्यजन्तु पिलरका डिएसपी अनुपम राणा बताउँछन् । उनलाई मलेसियन प्रहरीको सहयोगमा मलेसियाबाट पक्राउ गरिएको थियो । उनी इन्टरपोलको रेड कर्नर नोटिसको सूचीमा थिए । त्यस्तै ७५ बोरा चीरूको रौंविरूद्धको फरार मुख्य अभियुक्त गोरखा छेकम्पार–८ छुलेका रिजन वाङडा लामा पनि पक्राउ परे । उनले प्रतिबन्धित चीरूको रौं तिब्बतबाट नेपाल ल्याई भारत सप्लाइ गर्ने गर्थे ।  


चितवन राष्ट्रिय निकुञ्जको गैंडा मार्ने दिलबहादुर गुरूङ (ग्याल्बो) पनि यसै आर्थिक वर्ष पक्राउ परे । चितवन राष्ट्रिय निकुञ्जमा मारिएका धेरैजसो गैंडामा उनको संलग्नता रहेको थियो । आर्थिक वर्ष २०७२/७३ मा १०९ जना तस्कर पक्राउ परे । यस वर्ष सबैभन्दा बढी १३ वटा रेडपाण्डाको छाला बरामद भएको थियो । कस्तूरीको बिना, भालुको पित्त, सालकको खपटा पनि ठूलो मात्रामा बरामद भए । 


आर्थिक वर्ष २०७३/७४ मा ५४ वटा अप्रेशन गरिएकोमा ६ महिलासहित ११६ जना पक्राउ परेका थिए । ६८ किलो सालकको खपटा, चरीबाघको छला २ वटा, चितुवाको छाला ५ वटा, घडियालको छाला २ वटालगायत वन्यजन्तुका अखेटोपहार बरामद भएका थिए । 


यसै वर्ष सीआईबीले १२ जना फरार वन्यजन्तु तस्करलाई पक्राउ ग¥यो । वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करका फरार एजेन्ट शेर लामा पनि यसै वर्ष पक्राउ परे । पक्राउ परेका लामाले बर्दिया राष्ट्रिय निकुञ्जको थुनुवा कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । उनी नेपाल र भारतीय प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।


चालु आर्थिक वर्ष २०७४/७५ मा अहिलेसम्म सीआईबीले १८ वटा अप्रेशन सञ्चालन गरेको छ । जसमा ३० जना वन्यजन्तु तस्कर पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले सालकको खपटा ६ वटा, झारलको छाला १ वटा, चितुवाको छाला ३ वटा, हात्तीको दाह्रा २ वटा, बाघको छाला १ वटा बरामद गरेको छ । त्यस्तै नाइजेरियाबाट नेपाल ल्याइएको चिम्पाञ्जी २ वटा, बाँदर ८ वटा, गोल्डेन फेजन चरा ७ वटा, परेवा ३८ वटा, सुगा ६५ वटा बरामद गरेको छ । वन्यजन्तु तस्करका फरार अभियुक्त दावा लामालाई पनि पक्राउ गरियो ।

 
५६२ जना तस्कर पक्राउ गर्न २४७ वटा विशेष अप्रेशन गरेकोमा सीआईबीले अन्य थुप्रै साना अप्रेशन पनि गरेको छ । वर्षेनी अप्रेशन बढ्दै जाँदा वन्यजन्तु तस्करको संख्या पनि बढ्दै गएको छ । तर यसलाई तस्करीको संख्या बढेको भन्दा पनि प्रहरीको सक्रियताले पक्राउ पर्नेको संख्या बढेको तर्क गर्छन् सीआईबी प्रमुख पुष्कर कार्की । ‘पहिला वन्यजन्तु सम्बन्धी विशेष अप्रेशन कम हुन्थे, अहिले अप्रेशन धेरै हुन्छ’, कार्कीले भने ‘अप्रेशन धेरै भएकाले पक्राउ पर्ने तस्करको संख्या पनि बढी देखिएको हो । चोरी शिकारी भने कम भएको छ ।


सन् २०१५ मा मात्रै १५ वटा बाघको छाला बरामद भएकोमा नौवटाको ओसारपसार तथा चोरी शिकार वञ्जारा समूहले गरेको थियो । वञ्जारा समूह पक्राउ परेपछि वन्यजन्तुको चोरी शिकारी कम भएको प्रहरीको दाबी छ ।


नेपाल ट्रान्जिट
चोरी शिकारी भएका अधिकांश वन्यजन्तु नेपालका मात्रै नभएको सीआईबीको दाबी छ । वन्यजन्तु तस्करमा पक्राउ परेकाको बयान र प्रहरी अनुसन्धानले नेपाल वन्यजन्तु तस्करीको ट्रान्जिटको रूपमा स्थापित हुँदै गएको सीआईबीका डिएसपी अनुपम राणको भनाइ छ । उनको भनाइलाई गत असोज ३१ गते नाइजेरियाबाट टर्की हुँदै नेपाल आइपुगेको चिम्पाञ्जी, बाँदर, परेवा, सुगालगायतका पशुपंक्षीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको घटनाले थप प्रष्ट्याएको छ । 


खुल्ला सिमाना र विदेशमा वन्यजन्तुका हड्डी, छालाको माग भएकाले चोरी शिकारी भएका अधिकांश वन्यजन्तुका हाडछाला विदेश जाने गरेको तथ्याङ्क छ । ‘नेपालमै नपाउने कतिपय वन्यजन्तुको पनि चोरी शिकारीमा संलग्नलाई पनि हामीले पक्राउ गरेका छौं’, डिएसपी राणाले भने, ‘तस्करी भएका सबै वन्यजन्तु नेपालका होइनन् । नेपाल ट्रान्जिटको रूपमा स्थापित हुँदै गएको छ ।’ 


नेपालीलाई भरियाको रूपमा प्रयोग गरेर अन्तर्राष्ट्रिय तस्करहरूले नेपालको बाटो हुँदै वन्यजन्तुका अखेटोपहार विदश सप्लाइ गर्ने गरेको प्रहरीको बुझाइ छ । विदेशमा वन्यजन्तुका हड्डी सुप खाने, अखेटोपहारबाट विभिन्न कलात्मक वस्तु बनाएर उपहार दिने, वन्यजन्तुको छाला ओड्नाले सामाजको प्रतिष्ठित व्यक्ति ठहरिने तथा विभिन्न औषधी बनाइने भएकाले वन्यजन्तुको चोरी शिकारी तथा असोरपसार हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत ।  माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

काठमार्डौ, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक