बल्दैनन् काठमाडौंका ट्राफिक बत्ती 

janataPost
तस्बिर : सरोज बस्नेत

काठमाडौं, १९ माघ । काठमाडौंमा सवारीसाधनको चापसँगै जामको समस्या बढ्दै गए पनि ट्राफिक बत्ती (ट्राफिक लाइट) नहुँदा व्यवस्थापनमा कठिनाई हुने गरेको छ ।


काठमाडौंका मुख्य चौकमा जडान गरिएको बत्ती विग्रिएपछि मर्मत नहुँदा सवारीसाधनको भीडले बेलाबेला अस्तव्यस्त हुने काठमाडौंका सडक खुलाउन ट्राफिक प्रहरीलाई हम्मे–हम्मे पर्ने गरेको छ ।


काठमाडौं उपत्यकामा २०६५ मा जापान सरकारको सहयोगमा १९ स्थानमा ट्राफिक बत्ती र आठ स्थानमा पैदलयात्रु बत्ती जडान गरिएको छ । २०६७ सालयता चारवटा स्थानको ट्राफिक बत्ती बिग्रिएका छन् ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता डीएसपी मुकुन्द मरासिनीका अनुसार ठीमि चोक, कौशलटार, गट्ठाघर र सल्लाघारी चौकको ट्राफिक बत्ती बाहेक अन्य चौकमा रहेका ट्राफिक बत्ती बिग्रिएका छन् ।  


‘थप ३४ चौकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने आवश्यकता भइसक्यो,’ डीएसपी मरासिनी भन्छन्, ‘भएका ट्राफिक बत्तीले पनि काम नगर्दा सिट्ठीको भरमा हात हल्लाउदै ट्राफिक नियन्त्रण गर्न बाध्यता रहेको छ ।’


केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्यमोदयमोड, सिंहदरबार, माइतीघर, थापाथली, कालीमाटी, गौशाला, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर, मुनिभैरव, जडिबुटी र सूर्यबिनायक चोकमा जडान गरिएको ट्राफिक बत्ती बिग्रिएको वर्षाैं भइसकेको छ ।


ट्राफिक बत्ती नहुँदा दोब्बरदेखि पाँच गुणासम्म ट्राफिक प्रहरी खटिएर व्यवस्थापन गरिरहनुपरेको उनले बताए । ‘ट्राफिक बत्ती नहुँदा प्रहरी नै सडकमा उभिनुपर्ने बाध्यता छ,’ मरासिनी भन्छन्, ‘पूरानै प्रविधिको बत्ती भएपनि जनशक्ति कम पर्दथ्यो । तर, अहिले त बत्ती नै छैन ।’


बढ्दो सहरीकरण र सवारीसाधनको चापका कारण नारायणगोपाल चोक, चाबहिल, पुरानोबानेश्वर, मैतीदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, ल्होत्से चोक, लैनचौर, मित्रपार्क, गोल्डेन गेट (एयरपोर्ट) ग्वार्को, सातदोबाटो, जावलाखेल, पुल्चोक, एकान्तकुना र पेप्सीकोला चोकमा ट्राफिक बत्तीको आवश्यकता रहेको छ । 


यसैगरी, पैदल यात्रुलाई सडक पार गर्न सहजता तथा सवारीसाधन व्यवस्थापनका लागि खानी विभाग, सोह्रखुट्टे, हलचोक, बालाजु, नयाँ बसपार्क गेट, सामाखुसी, कलंकी, बल्खु, कुपण्डोल, टेकु, एकेडेमी मोड, ज्ञानेश्वर, गैरीधारा, इटालीयन मोड, सिंहदोबाटो र जयनेपाल चोकमा पनि ट्राफिक बत्तीको आवश्यकता रहेको भनेर सडक विभागमा पठाइएको डीएसपी मरासिनीले जानकारी दिए ।


‘अत्याधुनिक प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्र्ने’ भन्दै यातायात विभागले चारवर्ष अघि ल्याएको योजना कार्यान्वयन नहुँदै फेल खाएपछि झनै समस्या बल्झिएको हो ।  


एसियाली विकास बैंकको सहयोगमा काठमाडौं उपत्यका दिगो सहरी यातायात आयोजनाले तीन वर्षअघि ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ का लागि ठेक्का सम्झौता भएको थियो । तर, तीन पटक गरी आह्वान गरिएको ग्लोबल टेण्डरको बोलकबुल उच्च भएको भन्दै एसियाली विकास बैंकले हात झिकेपछि आयोजना अलपत्र परेको हो ।  करिब ५५ करोड लागत अनुमान गरेकोमा रसुवा कन्स्ट्रक्सनले २४ प्रतिशत बढी लागत देखाएको थियो । 


आयोजनाका उपनिर्देशक विमलप्रसाद सुवेदीले एडिबीले सही लागत अनुमान नगर्दा समस्या आएको बताए । ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ सीसी क्यामेरामार्फत्् ट्राफिक व्यवस्थापन गर्ने प्रविधि हो । ट्राफिक बत्तीको कन्ट्रोल एउटै कोठमा हुन्छ, सवारीचाप र जामका आधारमा कन्ट्रोल रूमबाटै व्यवस्थापन गर्न सकिन्छ । 


तर, ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ योजना कार्यान्वयन नहुँदै फेल भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापनमा ट्राफिक जनशक्तिको अधिक खपत भइरहेको छ ।


काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि एक हजार तीन सय ट्राफिक प्रहरी सडकमै खटिने गरेका छन् । डीएसपी मरासिनीका अनुसार एउटा चोकमा कम्तिमा तीन ट्राफिक प्रहरी तैनाथ रहन्छन् ।


नमूनाका लागि नेपाली प्रविधि
‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ योजना कार्यान्वयनमा नआउदै फेल भएपछि सडक विभागले काठमाडौंको नयाँबानेश्वरमा ट्राफिक बत्ती जडानका लागि नेपाली प्रविधिको परीक्षण गरिएको छ ।  


सडक विभागअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक युनिट प्रमुख दीप बाराहीका अनुसार स्वदेशी कम्पनी यार्सा टेक्नोलोजीले कम रकममै नेपाली प्रविधिबाट जडान गरेको ट्राफिक बत्तीको १ माघमा परीक्षण गरिएको हो । नयाँबानेश्वरमा १ माघमा केही घण्टा ट्राफिक बत्ती बलेको थियो । 


अन्तिम परीक्षण गरेर स्वीकृत गर्न भने बाँकी रहेको बाराहीले बताए । उनका अनुसार महाराजगञ्जमा केही दिनमै ट्राफिक बत्ती जडानको काम सुरू हुनेछ । सो ठाउँमा पनि योजना सम्पन्न भएमा अन्तिम परीक्षण गरेर स्वीकृत गरिनेछ ।  र, काठमाडौंका सबै क्षेत्रमा नेपाली प्रविधिमार्फत् ट्राफिक बत्ती जडान गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

काठमाडौं- शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।  आज यहाँ

पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं, ५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दुई हप्ताको भारत भ्रमण सकेर आज स्वदेश फर्केका छन् । उनी गत माघ २२ गते भारत गएका थिए । उनी भारतको धार्मिक

बस दुर्घटनामा दुई दर्जन घाइते

कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।  टीकापुरबाट धनगढी आउँदै